अव्यवस्थित निर्माणले खाँदबारी बजारमा जोखिम बढ्दो



सङ्खुवासभा । साँघुरो सडक, सडकको दुवैतिर घर निर्माण सामाग्री । केही दिन अगाडी मात्रै सङ्खुवासभाको मुख्य बजार खाँदबारीमा मालवाहक सवारीले निर्माण सामाग्री जोगाउने क्रममा बिजुलीको पोललाई ठक्कर दिँदा पोल ढल्यो । विद्युत्, इन्टरनेट, टेलिफोन लगायतका सेवा दिनभरि जसो अवरुद्ध भयो ।

यसरी दुर्घटना नै हुने गरी सडकमा निर्माण सामाग्री थुपारेर घर बनाइरहँदा नियमन गर्ने निकाय भने मौन छन् । सङ्खुवासभा जिल्ला सदरमुकाम खाँदबारी बजारको सानो क्षेत्रमा घर निर्माण गर्दा यत्रतत्र सडकमा निर्माण सामाग्री राखेकै कारण यात्रुहरू जोखिममा पर्ने गरेको छ ।

निर्माण सामाग्री मात्रै हैन पुरानो घर भत्काउँदा निस्केका माटो तथा सामाग्रीहरूले दिनानुदिन जोखिम बढ्दै गएको छ । निर्माण सामग्री थुपारेकै कारण साँघुरोमाथि साँघुरो हुँदै गएको सडकमा सवारी साधन आवतजावतमा समेत समस्या भएको खाँदबारीका सवारी चालक देवराज श्रेष्ठले बताए । उनले भने बजार भित्रका विभिन्न नागरिकहरूलाई ओसारपसार गर्दा कहाँ गएर रोकिने पत्तो हुँदैन ।

सहरी करण बढ्नु, सडक तथा तारहरू अव्यवस्थित हुनुले समस्या आएको हो । नियमन गर्ने निकायले बजारभित्रका समस्याका विषयमा चासो नदेखाएका कारण समस्याहरू थपिँदै आएको स्थानीयको बुझाई छ । जथाभाबी निर्माण सामाग्री राखेर घर बनाउँदा सवारीसाधनसँगै पैदल यात्रामा समेत समस्या भएको छ ।

विद्यालय समयमा विद्यार्थीहरू विद्यालय आउँदा जाँदा उत्तिकै समस्या छ । बजारमा केही काम लिएर जाँदा आउँदा साँघुरो सडक, सवारी साधनको चापका कारण दुर्घटना निम्तिन सक्ने स्थानीय लोक शंकर विश्वकर्माले बताए । उनले साँघुरो सडक भएकैले पनि छोराछोरीलाई एक्लै विद्यालय पठाउन डर मर्दो हुने बताए ।

बजार क्षेत्रको व्यवस्थापन र निर्माण गर्ने प्रावधान अनुरूपको नियमन गर्ने खाँदबारी नगरपालिका नै मौन भइदिँदा दिनप्रतिदिन समस्या थपिँदै गएको हो । नगरपालिकाको बेवास्ताले बजारमा आवत जावत गर्ने विद्यार्थी तथा यात्रुहरू दैनिक जोखिममा पर्दै गएको हो ।

नगरपालिकाले नियुक्ति गरेको नगर प्रहरीले यो प्रति कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ । बजारभित्र घर निर्माण गर्दा प्रत्यक्ष निगरानी राखेर चाँडो व्यवस्थापन गर्नु पर्ने नगरपालिका र नियमन निकाय टुलुटुलु हेरेर बरिरहेको छ ।

सम्बन्धित समाचार