सङ्खुवासभा । जिल्लामा आयोजित पाँचौ पाङ्मा कप फुटबल प्रतियोगिताको उपाधी दानाबारी फुटबल क्लव पाँचखपन नगरपालिकाले जितेको छ । पाङ्मा सामुदायिक क्लव खाँदबारीलाई ४–१ गोल अन्तरले हराउदै दानाबारीले उपाधी जितेको हो ।
निर्धारित खेल अवधी भित्र १–१ गोलको बराबरी पछि ट्राईबेकरमा दानावारी विजेता बनेको हो । पेनाल्टी सुटआउटको क्रममा दानाबारी फुटबल क्लवका गोल किपर विशाल घतानीले लगातार ३ गोल छेकिदिएपछि ३–० गोल अन्तरमा ट्राईब्रेकर खेल समापन भएको हो ।
खेल सुरु भएको २ मिनेट २९ सेकेण्डमा पाङ्माका सुरेन खवासले फ्रि किकबाट पहिलो गोल गरेका थिए । हाफ टाईम पछिको खेलमा फ्रि किकबाट नै दानाबारी पाँचखपनका विशाल तामाङले एक गोल गर्दै बराबरी बनाएका थिए ।
यसरी १–१ गोलको बराबरी पछि ट्राईब्रेकर खेल खेलाईएको थियो । ट्राईबेकरमा दानबारीका हेमन लिम्बुले पहिलो गोल गरेका थिए । त्यस्तै, दोश्रो गोल देव मल्लिक र सन्देश लिम्बुले तेश्रो गोल गर्दै उपाधी जितेको हो । पाङ्मा तर्फको प्रहार भने दानबारीका तीन वटै प्रहार दानाबारीका गोलकिपर विशाल घतानीले छेकिदिएका थिए ।
प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडी दानाबारीका हेमन लिम्बु घोषित भएका छन् भने लोहोरुङ क्लवका मन्दिप राई सर्वाधिक गोलकर्ता बनेका छन् । त्यस्तै उत्कृष्ठ डिफेण्डर पाङ्मा सामुदायिक क्लवका सुरेन खवास घोषित भएका छन् ।
प्रतियोगिताको उपाधी विजेता दानाबारी फुटबल क्लव पाँचखपन नगरपालिकाले नगद एक लाख १५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेता पाङ्मा सामुदायीक क्लव खाँदबारीले नगद ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । सेमिफाईनलमा पुगेका लोहोरुङ फुटबल क्लव र तल्लो पाङ्मा फुटबल क्लवलाई नगद १५, १५ हजार रुपैयाँ प्रदान गरिएको छ ।
सर्वोत्कृष्ठ खेलाडी हेमन लिम्बुले नगद ५ हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । त्यस्तै, सर्वाधिक गोलकर्ता मन्दिप राईले नगद ३ हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् भने उत्कृष्ठ डिफेण्डर सुरेन खवासले नगद ७ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
प्रतियोगिता लोहोरुङ क्लव खाँदबारी नगरपालिका ४ पाङ्माले आयोजना गरेको थियो । प्रतियोगिता पुष १ गते भगिवन्त रंगशाला पाङ्मामा सुरु भएको थियो ।
प्रतिक्रिया