संखुवासभा । जिल्ला ट्राफिक प्रहरी कार्यालय र खाँदबारी नगरपालिकाका नगर प्रहरीद्वारा बजार क्षेत्र भित्र सडक अबरोध हुने गरि राखिएका निर्माण सामाग्रीहरु हटाउने कार्य गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय संखुवासभाले ट्राफिक सप्ताह अभियान अन्तर्गत मङ्गलबार सडक परिक्रमा गरि फुटपात हटाउने कार्य गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । सडकबाट मानिस हिँड्दा दुर्घटना हुने सम्भाबना भएकाले नगरपालिकासंग मिलेर फुटपाथ र निर्माण सामग्री हटाउने कार्य गरेको जनाएको छ ।
सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणका लागि सडक सुरक्षा हामी सबैको रक्षा भन्ने नारा सहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नम्बर एक विराटनगर र एक नम्बर ट्राफिक प्रहरी कार्यालय इटहरीको आयोजनामा प्रदेश एकका सबै जिल्लामा एकै साथ कार्यक्रम सुरु भएको हो । सम्बन्धित जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयले कार्यक्रमको सहकार्य गरेको बताइएको छ ।
यस्तै संखुवासभामा समेत आइतबार बिहान प्रभात फेरी सहित ट्राफिक सप्ताह कार्यक्रम अभियानको सुरुवात भएको थियो । नगरपालिका गेटमा भेला भएर प्रगतिटोल, चादनीचोक, पोखरीबजार, भानुचोक, बुद्धटोल, प्रहरीगेट देखि बसपार्क सम्म प्रभातफेरीसहित सप्ताहको शुभारम्भ गरिएको थियो । कार्यक्रममा सुरक्षा निकाय, सवारी व्यवसायी र चालक, विद्यार्थी तथा स्थानीयको सहभागिता थियो ।
सवारी चलाउँदा बेल्टको प्रयोग गरौं, सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगरौँ, मापसे गरि सवारी नचलाउँ जस्ता प्ले कार्डसहित प्रभातफेरी निकालिएको थियो । सप्ताह कार्यक्रम अन्तर्गत चालक परिचालकलाई प्रशिक्षणदेखि सडकमा गएर जनचेतना जगाउने, चालकको स्वास्थ र सवारीको अवस्था चेकजाँच सम्मका कार्यक्रम गरिने ट्राफिक प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
प्रतिक्रिया