किरातहरुको चाड उधौलीको अवसरमा लोहरुङ क्लब खाँदबारीले आन्तरिक पर्यटनका लागि सभापोखरी र पाथीभरामा हेलिकप्टरबाट दर्शन गरायो । ४ हजार २ सय मिटरमाथि रहेको सभापोखरी संखुवासभामै पर्छ भने पाथीभरा मन्दिर ताप्लेजुङमा पर्छ ।
सभापोखरी संखुवासभाको मुख्य धार्मिक स्थलमा पर्छ । तर, त्यहाँसम्म हिँडेर जान त्यति सजिलो छैन । त्यही भएर आयोजकले उधौलीको अवसर पारेर आयोजना गरेको फुटबल प्रतियोगितामा धार्मिकस्थलको पनि हेलिकप्टरबाट लगेर पूजा गर्ने व्यवस्था मिलाएको हो ।
कोरोनाका कारण धार्मिक स्थल पुगेर पूजा गर्नेहरुको संख्या घटेको छ । सजिलै धार्मिकस्थल जान नसक्ने भक्तजनका लागि हेलिकप्टर सेवाले राहत मिलेको छ । खाँदबारीका जनक पौडेली पनि परिवारसहित सभापोखरी पुगे । विकट क्षेत्र र हिँडेर जान सकिरहेको थिइन, उनले भने, यो सेवाले एकै छिनमा पुगेर आयौँ ।ु खाँदबारीबाट सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबीसेसम्म जसोतसो सवारीसाधन पुग्छ । त्यहाँबाट जंगलको बाटो कम्तिमा २ दिन हिँड्नुपर्छ । हिँडेर जाँदा धेरैले लेक लागेर ज्यान समेत गुमाएका छन् भने धेरैको बिरामी परेपछि हवाई उद्धार गरिएको छ ।
ताप्लेजुङको पाथीभरा दर्शनका लागि पनि हेलिकप्टर सेवाले भक्तजनलाई फाइदा पुगेको छ । यहाँका भक्तजनलाई पाथीभरा पुग्न पनि २ दिन लाग्छ । धरान, बिर्तामोड, इलाम पाँचथर हुँदै ताप्लेजुङ पुग्न पर्छ । पाथीभरा दर्शन गरेर फर्किएकी लक्ष्मी प्रधान धार्मिक क्षेत्र जान सहज भएको बताउँछिन् । सडक मार्गबाट जाँदा कम्तिमा ३ दिन खर्चनु पर्छ, उनले भनिन्, जान नसक्ने र वृद्धवृद्धाका लागि धेरै राहत मिलेको अनुभव भयो ।
संखुवासभा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष कृष्णभगत प्रधान धार्मिक पर्यटन जहिल्यै पनि ओझेलमा परेको बताउँछन् । हिँडेर पूजा गर्न जान नसक्नेका लागि भएको यो सेवाले धार्मिक पर्यटनमा चहलपहल बढेको बताउँछन् । धार्मिक पर्यटनलाई पनि अघि बढाउनु पर्ने माग उनको छ ।
खाँदबारी नगरपालिकाका प्रमुख मुरारीप्रसाद खतिवडा कोरोनाले थलिएको पर्यटन क्षेत्र धार्मिक पर्यटनले तंग्रिन थालेको बताए । कोरोना महामारीका बेला सुनसान पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकले चहलपहल बढाउन युवाहरुले सुरु गरेको हेलिकप्टर अभियान सफल भएको बताए । हेलिकप्टरबाट धार्मिकस्थलसम्म लैजाने सेवाले प्रसिद्ध धार्मिकस्थलको प्रचारप्रसारमा सहयोग मिलेको मेयर खतिवडाको भनाइ छ ।
हेलिकप्टरबाट दुईसय बढीले सभापोखरी दर्शन गरेका छन् । धार्मिक गन्तव्य र पर्यटकीय स्थलमा चहलपहल सुरु भए त्यस क्षेत्रका होटल, व्यापार व्यवसायी पनि खुसी भएका छन् । आयोजक लोहरुङले खाँदबारीबाट सभाखोलाका लागि १३ हजार र खाँदबारीबाट पाथीभराका लागि हेलिकप्टरमा २४ हजार शुल्क निर्धारण गरेको छ । पुस १ देखि ८ सम्म सभापोखरी र पाथीभरा दर्शनका लागि हेलिकप्टर सञ्चालन गरिएको हो ।
प्रतिक्रिया