खाँदबरी । मंगलबार रातीदेखि लगातार परेको पानी र हिमपातका कारण संखुवासभाको जनजीवन प्रभावित बनेको छ । जिल्लाको माथिल्लो भेगमा हिमपात र तल्लो भेगमा लगातार पानी परेपछि जनजीवन कष्टकर बनेको हो ।
जिल्लाको किमाथाङ्का, गुफापोखरी, मुडे लगायतमा बाक्लो हिउँ परेको छ । हिमपातका कारण पशु चौपायहरुमा बढी असर पुगेको छ भने नागरिकहरु घर बाहिर निस्कन सकेका छैनन् । बाँधिएका पशु चौपायलाई घाँस पानी दिन सकिएको छैन । किमाथाङ्का क्षेत्रमा ५ फिटसम्म हिउँ जमेको किमाथाङ्का प्रहरी चौकीका ईञ्चार्ज टिकाराम राईले जानकारी दिए । प्रहरी चौकीको भवन समेत हिउँले ढाकेको राईले बताए ।
हिमपातसँग जाडो बढ्दा बालबालिका र बुढाबुढीहरुलाई समस्या परेको छ । गरिवीका कारण बाक्लो र न्यानो कपडा नभएकाहरु जाडोबाट बढि प्रभावित बनेका हुन् । जाडोका कारण बालबालिका र बुढाबुढीहरुमा बढीजसो रुघा खोकीको समस्या देखिन थालेको प्रभावित बताउछन् ।
प्रतिक्रिया