काठ्माण्डौ । तमु (गुरुङ) जातिहरुको मौलिक तथा महानपर्व तमु ल्होसार पुस १५ गते सार्वजनिक बिदा दिनुपर्ने माग गरेका छन् ।
मंगलबार गुरुङहरुको साझा संस्था तमु ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय अध्यक्ष रेशम गुरुङ, पुर्वराज्य मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्यहरु तारामान गुरुङ र सिता गुरुङले गृह मन्त्रालय पुगेर गृहमन्त्री बालकृष्ण खाँडलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् । विगतका दिनहरुमा तमु ल्होसार पुस १५ गते सार्वजनिक राष्ट्रिय पर्वको रुपमा देशभर बिदा दिने प्रचलन भएपनि यसअघिका केपी शर्मा ओली सरकारले कटौती गरेर जातीय समुदायलाई मात्रै बिदा दिने निर्णय गरेकाले सो निर्णय परिमार्जन गर्नु पर्ने तमु समुदायको माग रहेको अध्यक्ष रेशम गुरुङले स्पष्ट पारेका थिए ।
पूर्वराज्यमन्त्री तथा काँग्रेस केन्द्रिय सदस्यद्धयले समेत तमु ल्होसारलाई राष्ट्रिय सार्वजनिक बिदाको रुपमा दिनुपर्ने माग गरेका थिए । भेटमा गृहमन्त्री खाँडले यस बिषयमा गम्भीर भएर लागि पर्ने र पहल गर्ने बताएका थिए ।
यसअघि सम्म तमु ल्होसार पुस १५ गते देशभर सार्वजनिक बिदा दिने गरिन्थ्यो । यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले बिदा कटौती गरेपछि तमु समुदायले विरोध गर्दै पटक–पटक ध्यानाकर्षण गराएपनि कुनै सुनुवाई नभएको तमु समुदायको गुनासो छ । तमु ल्होसारका दिन देशभर तमुहरु विभिन्न ठाउँमा सार्वजनिक कार्यक्रमको आयोजना गरि भब्य रुपमा मनाउने गर्दछन् । ल्होसार दुःखसुख साटासाट गर्ने, आफ्नो आफन्तसंग भेटघाट गर्ने, रमाइलो गर्ने र मिठो मसिनो खाने पर्वको रुपमा समेत लिने गरिन्छ ।
प्रतिक्रिया