संखुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर –३ को वडा भवनको शिलान्यास गरिएको छ । शनिबार खाँदबारी नगरपालिकाका प्रमुख मुरारीप्रसाद खतिवडा, जिल्ला सम्वन्य समितिका उपप्रमुख अम्बिका खवास र वडाध्यक्ष भरतकुमार घिमिरेले संयुक्त रुपमा भवनको शिलान्यास गरेसँगै भवन निमार्ण सुरु भएको हो ।
भवन शिलान्यास गर्दै नगर प्रमुख खतिवडाले तोकिएको समयमा नै निर्माण कार्य सम्पन्न गरेर भवन हस्तान्तरण गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए । शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख मुरारीप्रसाद खतिवडाले भवन निर्माण गर्दा म्याद थप नगर्ने गरि तोकिएकै मितिमा भवन सम्पन्न गर्ने गरी लाग्न सबैपक्षलाई आग्रह गरे । वडाको कार्यालय भवन निर्माणको ठेक्का अरुण बरुण निमार्ण सेवा कम्पनी खाँदबारी–३ ले प्राप्त गरेको छ । वडा भवन निमार्णका लागि भ्याटबाहेक १ करोड ८५ लाख ९२ हजार १४६ रुपैयाँमा सम्झौता भएको छ । यो भवन सम्पन्न भएसँगै पछि नगरका ११ वटै वडाका सुविधा सम्पन्न भवन हुनेछ ।
नगरपालिकाले सबै वडामा एकै प्रकारको डिजाइनका सुविधासम्पन्न कार्यालय भवन निर्माणको योजना बनाएको छ । नगरपालिकाले यस वर्ष नौ वटा वडा कार्यालय भवन निर्माण सम्पन्न गर्दैछ । भवन निमार्ण ०८० असार १५ सम्ममा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया