खाँदबारी । पालिकाको खर्चमा अमेरीका भ्रमणमा जान लागिएको विषयमा समाचार बाहिरिएपछि चिचिला गाउँपालिकाले पत्रकार सम्मेलन गरि ‘सत्य तथ्य’ जानकारी गराएको छ । गाउँपालिकाले पत्रकार महासंघ संखुवासभाको कार्यालयमा सम्मेलन गरि जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाले समाचारमा भनिए जस्तो रकम गाउँपालिकाले खर्च नगर्ने बताउनुभयो । अमेरीकाबाट स्मार्ट सिटी सम्बन्धी कार्यक्रममा निम्तो आएको र उक्त कार्यक्रममा ब्यक्तिगत खर्चमा जाने सर्तमा गाउँपालिकाले निर्णय गरेको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । गाउँपालिकाको एक रुपैयाँ पनि खर्च नहुने शर्तमा प्रकृया अगाडी बढाईने भएपनि गाउँपालिकाकै सिफारिसमा जानु पर्ने भएकोले गाउँ कार्यपालिकाले निर्णय गर्नु परेको स्पष्ट पार्नुभयो ।
गाउँपालिकाको टोलीमा किन संवैधानिक आयोगका पदाधीकारीहरु संलग्न गरिएको ? भन्ने पत्रकारहरुको प्रश्नमा गाउँपालिकालाई ब्यायभार नपर्ने गरि उनीहरुकै खर्चमा जाने हुँदा पालिकाबाट सहमती दिईएको अध्यक्ष शेर्पाले बताउनुभयो । संबैधानिक आयोगकका पदाधिकारीहरु सम्मिलित टोली हुँदा भिजा लाग्न सहज हुने अपेक्षाले पनि उनीहरुलाई पालिकाको टोलीमा राखिएको अध्यक्ष शेर्पाको भनाई छ । टोलीमा राखिएको संबैधानिक आयोगकका पदाधिकारीहरुबाट प्रस्तावित रकम माग नगरियोस भनेर अर्को बैठकमा भ्रमण टोलीले खर्च आफै ब्यहोर्नु पर्ने कार्यपालिकाले निर्णय गरेको समेत अध्यक्ष शेर्पाले बताउनुभयो ।
यस अघि पनि पालिका अध्यक्ष आफ्नै ब्यक्तिगत खर्चमा विभिन्न देशहरुको भ्रमण गरिसकेको र प्रकृया त्यस बेला पनि यस पटकको जस्तै मिलाईएको अध्यक्ष शेर्पाले बताउनुभयो । गाउँपालिकालाई आर्थिक भार नपरोस भनेर आफ्नै खर्चमा भ्रमण गर्दै आएको अध्यक्ष शेर्पाले स्पष्ट पार्नुभयो । संखुवासभाको दश स्थानीय तह मध्ये सवैभन्दा कम बजेट आउने पालिका चिचिला रहेको र उक्त बजेट ब्यक्तिगत लाभका लागि र विलाशिताको क्षेत्रमा एक रुपैयाँ समेत खर्च नभएको र हुन नदिने पत्रकार सम्मेलनमा अध्यक्ष शेर्पाले प्रतिबद्धता ब्यक्त गर्नुभयो । भ्रमण सम्बन्धी यस अघिको खर्च र यस पछि हुने खर्चको विषयमा खोजी गरि सत्य तथ्य विषय सार्वजनिक गरिदिनको लागि समेत अध्यक्ष शेर्पाले अनुरोध गर्नुभयो ।
प्रतिक्रिया