संखुवासभा । नेकपा एमाले संखुवासभाको अध्यक्षका लागि पाँचजनाले दाबी गरेका छन् । पुस २६ र २७ गते सम्पन्न हुने आठौं जिल्ला अधिवेशनबाट चयन हुने नेतृत्वका लागि पाँचजना आकांक्षी देखिएका हुन् । अध्यक्षका आकांक्षीमा जीतबहादुर घिमिरे, खड्गबहादुर राई, मुरारीप्रसाद खतिवडा, विदुर लिंथेप र भरतकुमार खत्री रहेका छन् ।
घिमिरेका हालका जिल्ला अध्यक्ष र पूर्व उपसचिव हुन् । उनी खाँदबारी नगरपालिकाका पूर्व उपमेयर समेत हुन् । त्यसैगरि खड्ग राई वर्तमान सचिव हुन् । उनले आफ्नो कडा दाबेदारी रहेको जनाएका छन् ।
विदुर लिंथेप जिल्ला कमिटी सचिवालय सदस्य एवं प्रदेश कमिटी सदस्य हुन् । उनी मादी नगरपालिका मेयर हुन् । त्यसैगरि एमाले संखुवासभा कमिटीका संस्थापक सदस्य एवं राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यसमेत भइसकेका खतिवडाले अध्यक्षका लागि योग्यता पुगिसकेको भन्दै आफ्नो स्वाभाविक दाबी रहेको बताए । उनी खाँदबारी नगरपालिकाका मेयरसमेत हुन् ।
जिल्ला कमिटी सचिवालय सदस्य हुँदै प्रदेश कमिटी सदस्य रहेका भरतकुमार खत्रीले पनि पार्टीमा गरेको योगदानका आधारमा आफू अध्यक्षको दाबेदार भएको बताए । चैनपुर नगरपालिकाका मेयर हुन् ।
संखुवासभा एमालेको अधिवेशनलाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली खाँदबारी आउँने कार्यक्रम तय भएको छ । अधिवेशनमा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं संघीय सांसद राजेन्द्र गौतम, पोलिटब्यूरो सदस्य एवं राष्ट्रियसभा विधायन समितिका सभापति पर्शुराम मेघी गुरुङ, एमाले प्रदेश १ का अध्यक्ष तुलसीप्रसाद न्यौपानेलगायतका नेताहरू पनि उपस्थित हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया