खाँदबारी । जिल्लाको खाँदबारी नगरपालिका १ बसपार्कमा बेवारिसे अवस्थामा रहेको रुद्राक्ष च्याप्ने क्लिप र अबैध औषधी प्रहरीले बरामद गरेको छ । बसपार्क नजिकै सडकको किनारमा छोडिएको अवस्थामा उक्त बस्तुहरु प्रहरीले फेला पारेको हो ।
प्रहरीको नियमित गस्तिको क्रममा सडक छेउमा बोरा थुपारिएको भेटिएको र बोरा खोलेर हेर्दा विभिन्न उक्त सामग्रीहरु फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएस्पी लालध्वज सुवेदीले जानकारी दिनुभयो । बोरा भित्र ९ हजार ५ सय २० थान रुद्राक्ष च्याप्ने क्लिप, कृषि बालीमा लगाउने पिबिओजी नामको औषधी १ सय १६ प्याकेट, केएचटुपिओ नामको औषधी १५ प्याकेट, सिलिलोङ नामको औषधी २० बोतल र वाटर पम्प लेखिएको औजार एक थान फेला परेको हो ।
उक्त सम्पुर्ण सामग्री रुद्राक्षका लागि ल्याईएको अनुमान गरिएको डिएस्पी लालध्वज सुवेदीले बताउनुभयो । सवै सामग्री भन्सार छलेर ल्याईएकोले त्यस ठाउँमा प्रहरी पुग्दा सामान ल्याउनेहरु भागेको हुनसक्ने डिएस्पी सुवेदीको भनाई छ । उक्त सामान हालसम्म कोहि पनि दावी गर्न नआएको समेत डिएस्पी सुवेदीले जानकारी दिनुभयो । बरामद भएको सामान राजश्व अनुसन्धान कार्यालय ईटहरी पठाईएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय रुद्राक्षको आकार परिवर्तन गर्नका लागि फल्दै गरेको दानामा क्लिप लगाईदै आएको छ । क्लिपले तल्लो र माथिल्लो भागबाट च्यापिदिएपछि सामान्यतया चेप्टो आकारको दाना निस्किेने गरेको छ । त्यस्तै, रुद्राक्षको दानालाई चिल्लो बनाउनका लागि विभिन्न औषधीहरु छर्किने गरिएको छ । सोहि कार्यका लागि उक्त सामग्रीहरु ल्याईएको अनुमान गरिएको छ । चेप्टो र चिल्लो रुद्राक्षको दाना चिचियाँ ब्यापारीहरुको रोजाईमा पर्दै आएको छ ।
प्रतिक्रिया