अरुण ३ : स्थानीयले मुआब्जा नपाएको भन्दै चरणबद्ध आन्दोलनको घोषणा



संखुवासभा । अरुण तेस्रो जलविद्युत आयोजनाको पावरहाउस निर्माण स्थल अरुण तेस्रो प्रवेश मार्गको मुआब्जा हालसम्म पनि नपाएको भन्दै स्थानीयले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । अरुण तेस्रो प्रवेशमार्ग मुआब्जा पिडित समितिले आन्दोलनको घोषणा गरेको हो ।

शुक्रबार विज्ञप्ती जारी गर्दै समितिले अरुण तेस्रो परियोजनाको निर्माण कार्य ६० प्रतिशत सकिदा पनि मुआब्जा नपाएको भन्दै माघ ५ गते देखि चरणबद्ध आन्दोलनको घोषणा गरेको हो । उनीहरुले चरणबद्ध आन्दोलित भई प्रवेशमार्ग बन्द गरि पावरहाउसको काम ठप्प पार्ने जनाएका छन् ।

स्थानीयले पावरहाउस जाने प्रवेशमार्ग छ्याङकुटी दिदिङ सडकखण्डको ०२४ किलोमिटर सडकको छुट मुआब्जा पाउन सकेका छैनन् । यही विषयमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ७ वटा सरकारी निकायको कार्यदलले अध्ययन र अनुसन्धान गरि गत वर्ष फागुन ११ गते लगानीबोर्डको कार्यालयमा पेश गरिसकेको छ ।

गत असार ८ गते लगानीबोर्डको ४७ औं बोर्ड बैठकले समेत ५ सय २४ रोपनी जग्गाको मुआब्जा वितरणका लागि आवश्यक अनुमानित बजेटका लागि जिल्ला प्रशासन कार्यालय संखुवासभालाई पत्राचार भइसकेको छ । तर जिल्ला प्रशासन कार्यालयले हालसम्म पनि प्रकृया नबढाएको भन्दै चरणबद्ध आन्दोलन गर्नुपर्ने भएको समितिले जनाएको छ ।

सम्बन्धित समाचार