काठमाडौंमा उपचार गराउन भन्दै धामी(झाँक्रीकोमा लगेकी १४ वर्षीया बालिकाको मृत्यु भएको छ।
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका २ घर भई भक्तपुरमा बस्ने १४ वर्षीया रोशनी श्रेष्ठको शनिबार मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
काठमाडौंको नागार्जुन नगरपालिका १स्थित उमा शाही ठकुरीले सञ्चालन गरेको झारफुक केन्द्रमा बालिकाको मृत्यु भएको हो। बालिकाको मृत्यु भएपछि प्रहरीले ठकुरीलाई पक्राउ गरेको छ।
‘बालिकाको हिजो बिहान मृत्यु भएको हो। उनको शरीरमा दामहरू पनि देखिएका छन्,’ प्रहरी उपरीक्षक मैनालीले भने, ‘हामीले एक महिलालाई नियन्त्रणमा लिइसकेका छौं।’
उनका अनुसार बालिका बिरामी थिइन्। कसैबाट झारफुक केन्द्रको बारेमा थाहा पाएर बालिकालाई २१ दिनअघि आमाले त्यहाँ लगेकी थिइन्।
ठकुरीले छोरीको उपचार गराउने भन्दै बालिकालाई छाडेर जान भनेपछि आमाले त्यहीँ छाडेर गएकी थिइन्।
शनिबार बिहान बालिका बेहोस भएको भन्ने जानकारी परिवारलाई गराइएको थियो। त्यसपछि बालिकाको उपचारको लागि मनमोहन मेमोरियल अस्पतालमा पुर्याइएको थियो।
अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत्यु भइसकेको जानकारी गराएको प्रहरी उपरीक्षक मैनालीले बताए।
घटनाबारे आमाले प्रहरीलाई जानकारी गराएपछि उमा शाही ठकुरीलाई नियन्त्रणमा लिएको थियो। उनले त्यस ठाउँमा एक टहरा भाडामा लिएर झारफुक केन्द्र सञ्चालन गर्दै आएकी थिइन्।
उनीसँगै अरू भक्तजनहरू पनि बस्ने गरेको महानगरीय प्रहरी वृत्त स्वयम्भूले जनाएको छ। उनलाई सबैले ुमाताु भनेर सम्बोधन गर्थे।
उनीमाथि थप अनुसन्धान गर्न कर्तव्य ज्यान मुद्धामा म्याद थप गर्न काठमाडौं सरकारी वकिल कार्यालय लगिएको छ।
बालिकाको मृत्यु के(कसरी भएको हो भन्ने पोष्टमार्टमबाट थाहा पाइने प्रहरीले जनाएको छ। शव पोष्टमार्टमको लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।
प्रतिक्रिया