संखुवासभा । जिल्लाको चिचिला गाउँपालिकाले वडा नम्बर २ का अध्यक्ष मिर बहादुर राईलाई ढुंगा प्रहार विद्यार्थीबाट भएको खुलेको छ । मंगलबार साँझ गाउँपालिकामा भएको १०औं गाउँसभाबाट घर फर्कने क्रममा उनलाई ढुंगा प्रहार भएको थियो । उनलाई ढुंगा प्रहार भएको समाचार आएपछि गाउँपालिका लगायतले घटनाको भत्र्सना गरेको थियो । उनलाई सोहि गाउँका विद्यार्थी बालकहरुबाट ढुंगा प्रहार भएको खुलेको हो ।
मोटरसाईकलमा सवार उनलाई विद्यार्थीहरुले चिचिला–२ स्थित छ टर्निङ भन्ने ठाउँमा ढुंगा प्रहार गरेको थियो । सुरुमा हेलमेटमा ढुंगाले लागेको र अनियन्त्रित भएको मोटर साइकलसँगै भाग्ने क्रममा पुनः ढाँडमा ढुङ्गा लागेको थियो । सामान्य घाईते भएका उनको प्राथमिक उपचारपछि सामान्य छन् । विद्यार्थीहरुले एकान्त ठाउँमा मोटरसाईकलमा देखेपछि ढुंगा हानेको खुलेको हो ।
बुधबार प्रहरीसहितको खोजीमा ९/१० बर्षका ३ जना विद्यार्थीहरुले ढुंगाले हानेको पत्ता लागेको हो । उनीहरुलाई घटना स्थलमा नै जम्मा गरि सम्झाई बुझाई पठाएको वडाध्यक्ष मिर बहादुर राईले बताए । विद्यार्थीहरु घर फर्किने क्रममा खेलिरहेको र सडकमा मोटरसाईकल आएपछि उनीहरुले ढुंगा हानेको खुलेको हो । उनीहरुलाई माफी माग्न लगाई छोडेको अध्यक्ष राईको भनाई छ ।
प्रतिक्रिया