संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका– ९ तुम्लिङटार स्थित मनकामनामा वृद्ध आश्रम भवन शिलान्यास गरिएको छ । शुक्रबार खाँदबारी नगरपालिकाका प्रमुख मुरारीप्रसाद खतिवडा, उपप्रमुख डेगेश्वरी श्रेष्ठले संयुक्त रुपमा वृद्ध आश्रम भवनको शिलान्यास गरेसँगै भवन निमार्ण सुरु भएको हो ।
भवन शिलान्यास गर्दै नगर प्रमुख खतिवडाले तोकिएको समयमा वृद्ध आश्रम भवन निर्माण कार्य सम्पन्न हुनेमा आफु आशावादी भएको बताए । नगर प्रमुख खतिवडाले वृद्ध आश्रमको भवन दिर्घकालसम्म टिकाउ हुने गरी निर्माण गर्न निर्माण ब्यवसायीलाई निर्देशन दिए । मनकामना धाममा बस्ने वृद्धवृद्धाहरुका लागि सुविधा सम्पन्न भवन निर्माण गरेर चाडै ब्यवस्थापन गरिने नगर प्रमुख खतिवडाले बताए ।
वृद्ध आश्रम भवन शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख खतिवडाले समयमै भवन निर्माण सम्पन्न गराउन सबै सरोकारवाला निकाय र स्थानियको सहयोग आवश्यक भएको बताए । आश्रम भवन निर्माण भएपछि कुटी र छाप्रोमा बस्नु पर्ने बाध्यता हट्ने छ । मनकामना वृद्ध आश्रममा १५ जना भन्दा बढी बृद्धबृद्धा बस्दै आएका छन् ।
वृद्ध आश्रम भवन निर्माणको ठेक्का कुन्सालिङ, अरुण बरुण निमार्ण सेवा कम्पनी खाँदबारी–३ ले प्राप्त गरेको छ । भवन निमार्णका लागि भ्याटबाहेक २ करोड ६४ लाख १० हजार रुपैयाँमा सम्झौता भएको छ । यो भवन ०८९ पुष ३० सम्ममा निर्माण सम्पन्न हुनेछ । वृद्ध आश्रम भवन समय अवधि भित्रै सम्पन्न गरेर नगरपालिकालाई हस्तान्त्रण गरिने अरुण बरुण निमार्ण सेवा कम्पनीका प्रोपाइटर मिगुर शेर्पाले बताए ।
शिलान्यास कार्यक्रममा खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमप्रकाश सुवेदी, नेकपा एमालेका जिल्ला अध्यक्ष जीतबहादुर घिमिरे, पूर्व जिविस सभापति पद्मकेशर कार्की, वडा नम्बर ९ का वडाध्यक्ष टिकाराम कुमाल, वडा नम्बर ३ का वडाध्यक्ष भरतकुमार घिमिरे लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया