खाँदबारी-४ मा बौलाहा कुकुरको आँतक, पशुचौपया र मानिसहरु जोखिममा



संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका—४ सेकाहा चिप्लेगाउँमा बौलाहा कुकुरको आँतक बढेको छ । केहीदिन अगाडि देखि गाउँभरि बौलाहा कुकुरको आँतक बढेको हो ।

आइतबार बौलाहा कुकुरले टोकेर स्थानीय गंगामायाँ राईको भेडालाई घाइते बनाएको थियो । गाउँघरका कुकुर बौलाउन थालेपछि घरधनीहरुलाई कुकुर घरैमा बाँधेर राख्न अनुरोध गरिएको स्थानीयको भनाइ छ ।अहिले सम्म स्थानीय टकबहादुर राईको कुकुर मात्रै समात्न सफल भएकाले बाँधेर राखिएको छ । अन्य गाउँलेहरुको कुकुर समात्न नसकिएको खाँदबारी नगरपालिका ४ का वडासदस्य जीतबहादुर गुरुङले बताए । उनले गाउँमा नै पुगेर हेर्दा बौलाहा कुकुरलाई नियन्त्रण गर्न मुस्किल भएको र घरघरमा आफ्नो पशुचौपयाको सुरक्षा गर्न मानिसहरु खटिन थालेको बताए ।

गाउँभरिका कुकुरहरु भेला भएर चरनमा रहेका पशुचौपया गाईबस्तु, भेडाबाख्राहरुलाई आक्रमण गर्ने र मानिसहरु माथि समेत आईलाग्न थालेपछि गाउँका सबै मानिसहरु त्रसिद बनेका छन् । गाउँलेहरु भेला भएर कुकुर समात्न खोजेपनि नसकेको हो । गाउँलेहरुले गंगाबहादुर श्रेष्ठ र ओङ्ला भोटेको बौलाहा कुकुरलाई भने मारेका थिए ।

गतबर्ष चिप्ले गाउँ र मानेभञ्जाङ्गमा गरि एकसाता भित्र बौलाहा कुकुरले टोकेर १३ जना मानिसलाई घाइते बनाएको थियो । कुकुर धनीहरुलाई आफ्नो कुकुर घरमा बाँधेर राख्न सबैमा अनुरोध गरिएको वडासदस्य गुरुङको भनाइ छ ।

सम्बन्धित समाचार