संखुवासभाको जनसंख्या १ लाख ५९ हजार, २ हजार ६ सय परिवारको घर छैन



खाँदबारी । नेपालको जनगणना २०७८ अनुसार संखुवासभा जिल्लाको जनसंख्या १ लाख ५९ हजार ४६ पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । प्रारम्भिक तथ्यांकमा पुरुषको संख्या ८० हजार ५५ र महिला ७८ हजार ९ सय ९१ रहेको छ । यस जिल्लामा महिलाको संख्या भन्दा पुरुषको संख्या वढि रहेको विभागले जनाएको छ ।

२०६८ मा संखुवासभाको जनसंख्या १ लाख ५८ हजार ६ सय ४२ रहेको थियो । विभागका अनुसार यस पटक जिल्लाको जनसंख्या वृद्धिदर ०।०२ प्रतिशत छ । विभागले ३९ हजार ३ सय १८ परिवार जनगणना गरेको थियो । घर संख्या भने ३६ हजार ६ सय ९३ मात्र रहेको छ । २ हजार ६ सय २५ परिवारको घर नभएको तथ्यांकमा उल्लेख गरिएको छ । यस जिल्लाको जनघनत्व ४६ प्रति वर्ग किलोमिटर छ ।

कुन–कुन गाउँ र नगरमा कति जनसंख्या ?

राष्ट्रिय जनगणना २०७८ ले खाँदबारी नगरपलिकामा सबै भन्दा धेरै जनसंख्या रहेको देखाएको छ । त्यसैगरी जिल्लाको १० स्थानीय तह मध्ये सबै भन्दा कम जनसंख्या भोटखोला गाउँपालिकाको रहेको तथ्यांकमा उल्लेख गरिएको छ । तथ्यांकमा उल्लेख भए अनुसार मकालु गाउँपालिकाको भन्दा मादी नगरपालिकाको जनसंख्या कम देखिएको छ ।

सबै भन्दा धेरै जनसंख्या रहेको खाँदबारीमा ३६ हजार १ सय २ जना रहेका छन् भने कम जनसंख्या रहेको भोटखोलामा ६ हजार ५ सय ९ रहेका छन् । खाँदबारीमा १८ हजार १ सय ३५ महिला र १७ हजार ९ सय ६७ पुरुष रहेको विभागले जनाएको छ । त्यसैगरी भोटखोलामा पुरुष ३ हजार २ सय ५६ र महिला ३ हजार २ सय ५३ छन् ।

२७ हजार ७८ जनसंख्या रहेको चैनपुर नगरपालिकामा पुरुष १३ हजार २ सय १० र महिला १३ ८ सय ६८ रहेका छन् । पाँचखपन नगरपालिकाको जनसंख्या महिला ८ हजार ३ सय ३१ र पुरुष ८ हजार ६० गरी जम्मा १६ हजार ३ सय ९१ रहेको छ । १३ हजार ४ सय २८ जनसंख्या रहेको मादी नगरपालिकामा ६ हजार ५ सय ८४ पुरुप र ६ हजार ८ सय ४४ महिला रहेको तथ्यांकमा उल्लेख छ । धर्मदेवि नगरपालिकामा ७ हजार ८ सय ९० पुरुष र ८ हजार ४ सय १० महिला गरी जम्मा १६ हजार ३ सय जनसंख्या रहेको छ ।

१० हजार ५ जनसंख्या रहेको सभापोखरी गाउँपालिकामा ५ हजार १२ पुरुष र ४ हजार ९ सय ९३ महिला रहेको विभागले जनाएको छ । त्यसैगरी चिचिला गाउँपालिकामा ३ हजार ३ सय ५१ पुरुष र ३ हजार ३ सय ६९ महिला गरी जम्मा ६ हजार ७ सय २० जनसंख्या रहेको छ । मकालु गाउँपालिका जनसंख्या १३ हजार ४ सय ९२ रहेको छ । मकालुमा महिला ६ हजार ५ सय ७२ र पुरुष ६ हजार ९ सय २० रहेका छन् । १० हजार ४ सय ३२ जनसंख्या रहेको सिलिचोङ गाउँपलिकामा ५ हजार २ सय २३ पुरुष र ५ हजार २ सय ९ महिला रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।

विभागका अनुसार विदेशमा रहेका संखुवासभालीको जनसंख्या ६ हजार ७ सय २ पुरुष र १ हजार ४२ महिला गरी जम्मा ७ हजार ७ सय ४४ रहेको छ । कुल जनसंख्याको ०।३६ प्रतिशत जनसंख्या विदेशमा रहेका छन् ।

सम्बन्धित समाचार