अमेरिका बस्दै आएका शेर्पाद्धारा विपन्नलाई जस्तापाता सहयोग



संखुवासभा घरभई अमेरिका बस्र्दै आएका समाजसेवी छिरिङ शेर्पाद्धारा जस्तापाता सहयोग प्रदान भएको छ ।
जिल्लाको मकालु गाउँपालिका—३ गढी जन्मस्थल भई हाल अमेरिका बस्र्दै आएका समाजसेवी शेर्पाले खाँदबारी नगरपालिका–८ का विपन्न रामचन्द्र कटुवाललाई घर छाउनका लागि जस्तापाता सहयोग गरेको हो ।

शनिबार नेपाल पत्रकार महासंघको शाखा कार्यालय खाँदबारीमा आयोजित कार्यक्रममा रामचन्द्रको घर छाउनका लागि ब्यक्तिगत रुपमा साढे दुई बण्डल जस्तापाता खरिद गर्नका लागि नगद ३२ हजार रुपैया सहयोग प्रदान गरिएको हो । आर्थिक अवस्था अत्यन्तै कमजोर भएका रामचन्द्र कुटवाल खाँदबारी बजारमा भारी बोक्ने र होटलहरुमा भाँडा माझेर दैनिकी निर्वाह गर्दै आएका छन् । घरमा श्रीमती, तीन छोरी र एक छोरा गरि ६ जनाको परिवार रहेका रामचन्द्र बिहानबेलुकीको छाक टार्न समेत धौधौ पर्ने गरेको छ ।

रामचन्द्रको दयनीय अवस्थाका बारेमा गायक उमाङ लामाबाट जानकारी प्राप्त भएपछि आफुले सक्ने सहयोग ब्यक्तिगत रुपमा गरिएको दाता शेर्पाले बताए । उनले पैसा भएर दिएको भन्दा पनि मानवीय हिसाबले सकेको सहयोग गरेको बताए ।

समाजसेवी शेर्पा नेपाली काँग्रेसको संखुवासभा–अमेरिका जनसम्पर्क समितिका बरिष्ठ उपाध्यक्ष समेत हुन् । संखुवासभाको सिलिचोङमा गएको पहिरो पिडीतहरुका नेपाली काँग्रेस संखुवासभाले अभियान चालेको प्राकृतिक विपत्ति कोषमा उक्त समितिका अध्यक्ष कृष्णराज गीरि, महिपाल घिमिरे, पदम तामाङ लगायतका सदस्यहरूले अमेरिकाबाट रकम संकलन गरेर पठाएका थिए । त्यसैगरि कोभिड नियन्त्रण र उपचारका लागि जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा अक्सिजन कन्सन्ट्रेटर समेत सहयोग गरेको थियो । संखुवासभा–अमेरिका जनसम्पर्क समितिले यसअघि संखुवासभाका सामाजिक कार्यहरूमा सहयोग गर्दै आएको छ।

उक्त कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष इन्द्र गिरी, नेपाली काँग्रेसका पूर्वसभापति दीपनकुमार श्रेष्ठ र बरिष्ठ पत्रकार दिपेन्द्र बान्तवा लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार