धमाधम लेखिदै मेवाहाङ भाषाको पाठ्यपुस्तक



खाँदबारी । मेवाहाङ भाषा पठनपाठन सुरु भएको तेस्रो शैक्षिक सत्रको लागि कक्षा ३ को पुस्तक लेखन कार्य सुरु भएको छ । सिलिचोङ गाउँपालिकाको आर्थिक सहयोगमा सिलिचोङ गाउँपालिका स्थित ताम्कुमा आइतबारदेखि लेखन कार्य सुरु भएको हो ।

विहिबारसम्म सञ्चालन हुने पुस्तक लेखनको लागि ७ सदस्यीय विज्ञ टोलीले काम गरिरहेको किराँत मेवाहाङ याखोम्माले जनाएको छ । आगमी शैक्षिक सत्रको लागि गाउँपालिकामा सुचिकृत रोष्टरको संयोजक गणेश मेवाहाङ र दुर्गाकिरण मेवाहाङ सह संयोजक रहनुभएको छ । बालजीत मेवाहाङ सुनसरी, सुभास मेवाहाङ ईलाम, सुमन मेवाहाङ मोरङ, विनोद सिंलेगा मेवाहाङ धरान र विश्वरसिं मेवाहाङ संखुवासभा रोष्टरको सदस्य रहेको याखोम्माले जानकारी दिए । रोष्टर टोली बाहेक भाषाविद् तथा पुर्खाहरुको पनि सहभागीता रहेको छ । भाषाको जानकार तथा पुर्खाहरुमा सिलिचोङ २ बालाका तलशी मेवाहाङ र अगम बहादुर, सिलिचोङ ३ ताम्कुका मणि कुमार मेवाहाङ, सिलिचोङ ४ मांतेवाबाट नारदमणि, पदम बहादुर र मिन बहादुर मेवाहाङ रहनु भएको छ । पुस्तकका लागि आवश्यक चित्रहरु चित्रकार मणि मेवाहाङले तयार गर्ने रोष्टर टोलीका सदस्य विश्वरसिं मेवाहाङले बताउनुभयो ।

सिलिचोङ गाउँपालिकाले चालु आर्थिक बर्षमा कक्षा ३ को पुस्तक लेखन तथा प्रकाशनको लागि ५ लाख बजेट विनियोजन गरेको छ । पुस्तक लेखन कार्यको गाउँपालिका अध्यक्ष राम बहादुर कुलुङ, प्रमुख प्रशासकिय अधिकृत रामराज पौडेल, शिक्षा शाखा प्रमुख बुद्धि कुलुङ लगायतले उद्घाटन गर्नुभएको थियो । मेवाहाङ भाषाको स्थानीय पाठ्यक्रम सिलिचोङ गाउँपालिकाको १३ वटा विद्यालयहरुमा पठनपाठन सुरु भईसकेको छ भने नेपालभरी मेवाहाङ समुदायको बसोबास रहेको ६ जिल्लामा नै विस्तार गर्दै लगिने याखोम्माका सचिव नरेन्द्र मेवाहाङले बताउनुभयो । संखुवासभा, भोजपुर, इलाम, मोरङ, सुनसरी र काठमाण्डौ उपत्यकामा १० हजार बढि जनसंख्या रहेको याखोम्माको दावि रहेपनि राष्ट्रिय जनगणना २०६८ अनुसार ३ हजार १ सय जना मात्र रहेको जनाएको छ ।

 

सम्बन्धित समाचार