सवैको मेहेनतले प्रदेश मै उत्कृट बन्न सम्भव भयोः डा. सुन्दरश्याम झा



पूर्वी पहाडी जिल्ला संखुवासभा हिमाली तथा पहाडी जिल्ला हो । १० वटा स्थानीय तह रहेको संखुवासभामा एकमात्रै जिल्ला अस्पताल सदरमुकाम खाँदबारीमा रहेको छ । २०३३ सालमा निर्माण भएको जिल्ला अस्पतालमा पछिल्लो समय विभिन्न सेवासुविधा थप हुने क्रममा रहेको छ ।

यसैक्रममा जिल्ला अस्पताल संखुवासभाको मिति २०७७ चैत्र २३ देखि २५ गते सम्म भएको न्यूनतम मापदण्ड मापन विश्लेषण तथा प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रदेश नंं.१ का सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की लगायतका ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो । जिल्ला अस्पतालमा कार्यरत रहेको जनशक्ति, भएको सेवा प्रवाह, औजार उपकरणको उपलब्धता र प्रयोगका अवस्था, भौतिक अवस्था, बिरामीले पाएको सेवा प्रवाह, पानीको ब्यबस्थापन, फोहोरमैलाको ब्यबस्थापन, औजार उपकरणको मर्मत संम्भार र विपत्त हुदाँका योजना लगायतका ९ सय ३९ वटा सुचक भित्र रहेर गरिएको निरिक्षण र अवलोकनमा प्रादेशिक द्धितिय स्तरको ५० शैया भएका अस्पतालहरुको तुलनात्मक मूल्याङ्कन गर्दा सामाजिक विकास मन्त्रालयले प्रदेश नं. १ मै जिल्ला अस्पताल संखुवासभा ७१ प्रतिशत ल्याई १ नम्बर मै उत्कृष्ट भएको छ । सोही सेरोफेरोमा रहेर जिल्ला अस्पताल संखुवासभाका मेडिकल सुपरीटेन्डेण्ड डा.सुन्दरश्याम झासंग ईमकालु अनलाईनका कार्यकारी सम्पादक नवीन गुरुङले कुराकानी गरेका छन् ।

जिल्ला अस्पताल संखुवासभालाई प्रदेश नं. १ मै उत्कृष्ट बनाउन सफल हुनु भएको छ, यसका लागि तपाई लगायत सम्पूर्ण टिमलाई बधाई दिन चाहान्छु ।

धन्यवाद । यो उत्कृष्ट बनाउन हाम्रा टिमका सम्पूर्ण महारथीहरु साथै नागरिक समाज लगायत तपाईहरुको समेत साथ सहयोगले सम्भव भयो ।

जिल्ला अस्पताललाई प्रदेश नं. १ मै उत्कृष्ट बनाउन कसरी संम्भव भयो ?

जिल्ला अस्पताल अहिले संघीय संरचनापछि प्रदेश सरकार अन्तर्गत रहेकोछ । यहाँका गतिविधीका बारेमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले हेर्ने गर्दछ । प्रदेश नं. १ भित्र रहेका ५० शैया भएका जिल्ला अस्पतालहरुको तुलनामा संखुवासभा उत्कृष्ट भएको हो । यो ५० शैया भएका अस्पताललाई प्रादेशिक द्धितिय स्तर अथवा ए लेभलका अस्पताल समेत भनेर भनिन्छ । हाम्रो अन्य सुविधा सम्पन्न भएका ठाउँका ठूला अस्पतालसंगको तुलना होइन । ५० बेड (शैया) भएका जिल्ला अस्पतालहरुको मात्रै तुलना गरिएको हो । जस्तै—इनरुवा, इलाम, उदयपुर र संखुवासभा लगायतका जिल्लाहरुको मूल्याङकनमा सामाजिक विकास मन्त्रालयले विभिन्न ९ सय ३९ वटा इन्डीकेटरहरुको निरिक्षण तथा मूल्याङकन गर्दा संखुवासभा अन्य जिल्लाहरुको तुलनामा ७१ प्रतिशत प्राप्त गरि उत्कृष्ट भएको हो । त्यसैगरि इनरुवा ४२ प्रतिशत, इलाम ६२ प्रतिशत र उदयपुर ६४ प्रतिशत मात्रै प्राप्त गरेका छन् । यो सफल बनाउन अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीहरु र समितिका पदाधिकारीहरुले हरेक समयमा गर्नुभएको अग्ररता र चासोका कारण संम्भव भयो । त्यसैले यो खुशी म सम्पूर्ण महानुभावहरु माझ साट्न चाहान्छु ।

अस्पतालमा जनशक्ति कति छन् ? अनि कसरी ब्यबस्थापन गरिरहनु भएको छ ?

यो ५० बेडका अस्पताल भएकाले ९ जना बिशेषज्ञ चिकित्सकको दरबन्दी छ । तर सरकारी डाक्टर १ जना म मात्रै छु । जिल्ला अस्पतालका कुल स्थायी दरबन्दी त ५९ जनाको हो । तर अहिले स्थायी कर्मचारी, करार र ल्।क्।क्ष्। को सहयोगमा गरि जम्मा ६८ जनाले काम गरिरहेका छौ । तल्लो स्तरका प्राविधिक कर्मचारीहरुको अस्पतालमा आवश्यकता छैन् । मेडीकल अधिकृत र विशेषज्ञ चिकित्सकको मात्रै अस्पतालमा अभाव रहेको छ । अहिले हामीसंग कार्यरत रहेका टिमलाई आफ्नो फाँट अनुसार योग्यता क्षमताका आधारका कार्यविभाजन गरि काममा खटाएका छौ । उहाँहरुले इमान्दारपूर्वक सेवाग्राही लक्षित भएर आफ्नो डियूटी अनुसार खटिएर काम गरिरहनु भएको छ । हाम्रो टिम एकताबद्ध भएर काम गरेकै कारणले हामी उत्कृष्ट भएका हौ ।

विगतका तुलनामा अस्पतालमा सेवाग्राहीको संख्या बढ्नु कारण चाँही के हो ?

तुलनात्मक रुपमा विगतका बर्षहरु भन्दा यो बर्ष अस्पतालमा ३० प्रतिशत सेवाग्राही बढेका छन् । खाँस गरि सेवाग्राही बढ्नुको मुख्य ४ वटा कारणहरु रहेका छन् । त्यसमा सबैभन्दा पहिलो अस्पतालले स्वास्थ्य सेवाको गुणस्तरीय सेवाप्रवाह गरिरहेको छ । दोस्रो बीमा कार्यक्रम लागु हुनु पनि अर्को महत्वपूर्ण कारण हो । तेस्रो विशेषज्ञ सेवा पनि बिस्तार गरिएको छ । भने चौथो आन्तरिक ब्यबस्थापनलाई बलियो बनाउर्दै छिटो छरितो सेवा प्रवाहका कारण र भनेको समयमा डाक्टर उपस्थित रहेका कारणले समेत सेवाग्राही बढेका हुन भन्ने लाग्छ ।

यो स्वास्थ्य बीमा कार्यक्रम प्रति सेवाग्राहीको आकर्षण कस्तो छ ?

जिल्ला अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु भएपछि सेवाग्राहीहरुको आकर्षण राम्रो रहेको पाएको छु । गत बर्षको भदौ १ गते देखि जिल्ला अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु भएको हो । हाल सम्म २० महिनाको अवधिमा १२ हजार ८ सय ८९ जना बिमित भएका छन् । तर स्वास्थ्य बीमा कार्यक्रमले भनेको समयमा अस्पताललाई भुक्तानी नदिदाँ समस्या भइरहेको छ । तर पनि हामीले जसोतसो ब्यबस्थापन गरिरहेका छौ । सरकारले अर्थात स्वास्थ्य बीमा बोर्डले हामीलाई भुक्तानी गर्नुपर्ने १ करोड ७० लाख ३ सय १० रुपैया रकम नपठाई दिदाँ औषधी खरिद देखि विभिन्न कामहरु गर्न असहज भइरहेको छ । ताकेता गरिरहेका छौ ।

औजार उपकरणको अवस्था के छ ? के–के थप हुदैछ ?

इको सेवा, ब्लड कल्चर, ब्लड बैंक, थाइराइड टेष्ट केही समयअघि देखि शुरुवात गरिसकेकाछौ । यो बर्ष भित्र क्रिटीकल बिरामीहरुलाई मध्यनजर गरि आईसियू सेवा र सिटी स्क्यमन थप्ने योजनामा लागि रहेकाछौ । त्यसबाहेक ३ वटा सम्म लाशलाई कुहिनबाट जोगाउने प्रविधीको फ्रिज थप गर्दैछौ । त्यसका साथसाथै अस्पतालबाट निस्कने फोहोर मैलालाई निर्मलीकृत गर्न किटाणु रहित बनाएर डम्पिङ्गसाइडमा पठाउनका लागि अटो क्लेभ मेशिन खरिद गर्ने तयारीमा छौ ।

भौतिक ब्यबस्थापन कसरी गरिरहनु भएको छ ?

जिल्ला अस्पताल ५० बेडको भएपनि अहिले नयाँ भवन निर्माण सम्पन्न नभएकाले पुरानै भवनमा हामी काम गरिरहेका छौ । अहिले ३८ बेड सम्म सेवाप्रवाह गरिरहेका छौ । अस्पताल रंगरोगन र टायल लगाएपछि बाहिरी आकर्षण समेत बढेको छ । सेवाग्राहीरुलाई बस्नका लागि बाहिर आंगनमा चौतराहरु दाताहरुले निर्माण गरिदिए पछि सहयोग पुगेको छ ।

सेवाग्राहीको गुनासो कस्तो छ ?

धेरै जना कर्मचारीहरु भएको ठाउँमा कहिले–काँही गुनासो आउनु स्वभाविकै हो । तर गुनासो आउने बित्तिकै समाधान गरिरहेका छौ । कसैको गुनासो भए अस्पतालको ल्याण्डलाइन नम्बर, मेरो नम्बर र प्रशासनको नम्बरमा गुनासो गर्न अनुरोध गर्दछु । साथै हामीले अस्पतालमा सुझाव पेटिका समेत राखेका छौ । त्यसमा आफ्नो कुराहरु लेखेर दिन समेत अनुरोध गर्दछु । र हामी समाधान तत्कालै समाधान गरिरहेका छौ ।

तपाईलाई अव अस्पतालका सुधार गर्नुपर्ने पक्ष के–के जस्तो लाग्छ ?

दरबन्दी अनुसार सरकारले कर्मचारी पठाई दिनुप¥यो । अस्पतालका लागि ठाउँ सानो भइरहेको छ । त्यसलाई अझै ब्यबस्थित गर्न आवश्यक छ । त्यो बाहेक बाहिर टिकट काउन्टरमा सेवाग्राहीका लागि जस्ताका छानो अलि लामो हाल्नु पर्ने भएको छ । छानो भए घाम र पानीबाट समेत जोगिन सजिलो हुन्थ्यिो । अझै धेरै कुराहरु ब्यबस्थापन गर्दै लगिरहेका छौ । टिम स्प्रिड भयो भने काम चाँडै गर्न सकिन्छ । र जिल्ला अस्पताललाई अझै अगाडी बढाउन सकिन्छ भन्ने लाग्छ । यसका लागि यहाँका नागरिक समाज, राजनैतिक दल लगायतले अस्पतालका बारेमा चासो राखेर आफुले सक्ने सहयोग र सदभाव राखि दिएको खण्डमा यो अस्पताललाई अझै अगाडि बनाउन सकिन्छ भन्ने लाग्छ ।

ईमकालु अनलाईनलाई समय दिनुभयो, धन्यवाद ।

यहाँलाई पनि जिल्ला अस्पतालको बारेमा केहि बोल्ने अवसर दिनुभएकोमा धन्यवाद ।

सम्बन्धित समाचार