सङ्खुवासभा । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले सङ्खुवासभा र भोजपुर जोड्ने लम्सुवाघाटको अरुण नदीमा निर्माण गर्न लागिएको पुल अलपत्र पार्ने कम्पनीको ठेक्का रद्द गर्ने बताउनुभएको छ । अरुण नदीमा निर्माण हुन लागेको पक्की पुल आज बुधवार अनुगमन गरेपछि मुख्यमन्त्री राईले ११ वर्षअघि निर्माण थालिएको पुल निर्माण गर्ने कम्पनीले काम अलपत्र पारेकाले ठेक्का रद्द गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।
स्वच्छन्द निर्माण कम्पनीले विसं २०६७ मा निर्माण सुरु गरेको पुल निर्माण विभिन्न कारण देखाउँदै बीचमै काम छाडेर ठेकेदार भागेपछि पुल निर्माण अलपत्र भएको छ । विसं २०७२ असोजमा निर्माण सम्पन्न हुनुपर्ने १६७ मिटर लामो यो पुलमा ६ वटा पिलर आधा मात्रै उठाइएको छ ।
लम्सुवाघाटको अरुण नदीमा तीन वर्षभित्र पुल निर्माण सम्पन्न गर्न सम्झौता भए पनि अहिलेसम्म ३० प्रतिशत मात्र काम सकिएको छ । अलपत्र पुलको अनुगमन गर्दै मुख्यमन्त्री राईले डिजाइनअनुसार पुल निर्माण हुन सक्ने अवस्था नभएको भन्दै ठेक्का सम्झौता रद्द गरेर कारबाहीका लागि सङ्घीय सरकारलाई सिफारिस गर्ने बताउनुभयो । अहिलेको अवस्थामा यहाँ पुल बन्न नसक्ने भएका कारण नयाँ ठेक्का गर्ने वा ठाउँ परिवर्तन गर्ने भन्ने चाँडै निष्कर्ष निकालिने मुख्यमन्त्री राईले बताउनुभयो ।
स्वच्छन्द निर्माण कम्पनीले पुल निर्माण सम्पन्न गर्न भन्दै पछिल्लो पटक २०७७ पुस १३ गतेसम्म म्याद थप गरेको थियो । १४ करोड ७५ लाख ११ हजार रुपैयाँमा सम्झौता भएको पक्की पुलमा अहिलेसम्म तीन करोड ८५ लाख २२ हजार रुपैयाँ खर्च भएको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ । पुलको जमिनमुनिको पिलर बिल निर्माण गर्ने क्रममा १२ मिटरमै चट्टान भेटिएको भन्दै ठेकेदारले काम छाडेको जनाएको छ ।
लामो समय निर्माणको काम रोकिएपछि डिजाइन परिर्वतनका लागि समय पनि थपिएको थियो । पुल अनुगमनमा सङ्खुवासभा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य, खाँदबारी नगरपालिका उपप्रमुख डेगेश्वरी श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालगायतको उपस्थिति थियो ।
प्रतिक्रिया