यू-१८ महिला साफ : छोटो तयारी, बलिया प्रतिद्वन्द्वी



नेपालको यू १८ महिला टोली यतिबेला साफ च्याम्पियनसिपको तयारीमा छन् । उमेर समूहको महिला फुटबल विकासका लागि दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ)ले सन् २०१८ देखि सुरु गरेको यो प्रतियोगिताको तेस्रो संस्करण भारतमा हुन लागेको छ ।

यसपल्ट यू १८ साफ च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशमात्र छन् । तीन टोलीबीच डवल राउण्ड रोविन प्रणालीअनुसार लिग खेल सन्चालन हुनेछ । लिगको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ । भारतको जम्सेदपुरमा चैत १ देखि १० गतेसम्म प्रतियोगिता सन्चालन हुनेछ ।

लगातार दुई संस्करणको उपाधि विजेता बंगलादेश र पछिल्लो संस्करणको उपविजेता आयोजक टिम भारतसँग खेल्ने नेपाली टिमको तयारी भने निकै फितलो छ । नेपालले फागुन ११ गतेदेखि मात्र बन्द प्रशिक्षण सुरु गरेको हो । प्रारम्भिक सूचीमा परेका ४० मध्ये एक साताको तयारीपछि ३० जनामा झारिएको छ । टिमले लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको मैदानमा प्रशिक्षण गरिरहेको छ । दर्शन भक्तराज लावत र राष्ट्रिय टोलीकी पूर्व भगवती भगवती थापाले प्रशिक्षण दिइरहेका छन् ।

सन् २०१८ मा भुटानमा भएको पहिलो प्रतियोगिताको सेमिफाइनलमा भारतलाई हराएको नेपाली टिम बंगलादेशसँग पराजित भएपछि उपाधिबाट बन्चित भएको थियो । कोरोना महामारीका कारण सन् २०२० मा प्रतियोगिता हुन नसकेपछि एक वर्षपछि यू १९ साफ च्याम्पियनसिपको नाममा आयोजना भयो । राउण्ड रोविन प्रणालीमा पाँच देशबीच प्रतिस्पर्धा हुँदा नेपाल तेस्रो भयो । फाइनलमा पुग्न सकेन । यसपालीको समेत गरी तीन संस्करणमा साफले तीन फम्र्याटमा प्रतियोगिता आयोजना गर्न लागेको छ ।

यू(१८ टिमबीचको प्रतिस्पर्धालाई नै निरन्तरता दिइँदा नेपाली टोलीमा प्रिती राईबाहेक अघिल्ला दुई संस्करण खेलेका सिनियर राष्ट्रिय टिमका खेलाडी टिममा छैनन् । यसको अर्थ नेपाली टोलीमा अन्तर्राष्ट्रिय एक्स्पोजर पाएका खेलाडी अत्यन्तै न्यून छन् । एक महिनाको तयारी पनि नहुँदा ठूला प्रतिस्पर्धीसामू नेपाली टिमलाई चुनौति धेरै छ ।

नेपालको कप्तानी संहाल्ने तयारी गरेकी प्रिती राईलाई कम समयको तयारीका कारण आफूहरु अरु दुई टिमभन्दा कमजोर देखिने हो कि भन्ने चिन्ता छ । ‘हाम्रो लागि यो प्रतियोगिता महत्वपूर्ण छ । तर प्रशिक्षण अवधि धेरै थोरै भयो,’ उनले अनलाइनखबरसँग भनिन्, ‘टोलीका हरेक खेलाडीले आफ्नो हिसावबाट पहिलादेखि नै तयारी गर्दै आएका कारण अहिले केहि सहज भएको हो । नत्र यति थोरै समयले यो प्रतियोगिता खेल्न सकिन्नथ्यो ।’

प्रशिक्षक भगवती थापा भने यसपाली टिमले राम्रो प्रदर्शन गर्ने दावी गर्छिन् । ‘अहिलेका बहिनीहरु निकै मिहिनेती छन् । अघिल्ला पुस्ताको तुलनामा यो टोली अनुशासित छन् । छोटो समयमै राम्रो सिकेका छन्,’ प्रशिक्षक थापालाई तयारी समय कम भएकाले उपाधि जित्ने लक्ष्य पूरा हुँदैन कि भन्नेमा शंका छ ।

प्रतियोगिताका लागि नेपालले हतारमा टिम घोषणा गरेको थियो । टिमका सबै खेलाडीको क्षमता पहिल्याएर अन्तिम टिम बनाउने समय पनि नपाउँदा प्रशिक्षकहरु चिन्तामा छन् । ‘विपक्षीहरु बलिया छन् । हाम्रो तयारी अपर्याप्त छ । खेलाडी छनोट गरेर प्रशिक्षण गर्न पाएको भए राम्रो हुन्थ्यो । हामीले अझै अन्तिम टोलीको छनोट गरेका छैनौं । प्रतियोगितालाई पुग्ने जति तयारी भएको छैन,’ थापाले थपिन् । नेपाल फागुन २८ गते भारत प्रस्थान गर्नेछ ।

सम्बन्धित समाचार