इटहरी । कुनै समय इटहरीका निजी विद्यालयमा अध्यापन गराउने युका पोखरेल सहित तीन जना शिक्षकले बिहिबार बिहान संखुवासभाको मादीमा भएको दुर्घटनामा ज्यान गुमाएका छन् ।
२ बर्ष अघिमात्रै बिराटनगरमा विवाह गरेर संखुवासभाको मादीलाई कार्यक्षेत्र बनाउँदै शिक्षणमा लागेकी पोखरेल बिहिबार अन्तिम समयमा आएर ब्रह्मलिन भइन् । दुर्घटनामा घाइते भएकाहरुलाई लिन जाने क्रममा केहि बाँच्ने आशा गरिएकी युकाको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हेलिकप्टर मार्फत ल्याउने क्रममा बाटोमै मृत्यु भएको उनका दाजु यादव पोखरेलले बताएका छन् ।
युका मादी नगरपालिकामा अवस्थित मादी माध्यामिक विद्यालयको उच्च माध्यमिक तहकी अंग्रेजी बिषयमा अध्यपान गराउने शिक्षिका हुन् । युकाका पति पनि अध्यापन पेशामै संलग्न छन् । विराटनगर घर भएका उनका पति सोलुमा प्लस टुका विद्यार्थी पढाउछन् । केहि शारिरिक अस्वस्थता देखिएपछि आराम र उपचार गर्न तराई आउँदै गर्दा बस दुर्घटनामा परेको पारिवारिक स्रोतले बताएको छ । युवाको अहिले केही बेरमा इटहरी स्थित गंगा जमुना मुक्तिघाटमा अन्तीम संस्कार गरिने छ ।
युकासँगै बिहिबारको दुर्घटनामा मृत्युवरण गर्ने अन्य शिक्षकहरुमा संखुवासभाकै चन्द्रज्योति आवासीय विद्यालयका शिक्षक भवानी दाहाल र मादी बहुमुखी क्याम्पसका कर्मचारी दिपक कुमार दाहाल रहेका छन् ।दुर्घटनामा उनिहरु सहित जम्मा १५ जनाको मृत्यु भएको थियो भने ४ जनालाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरमा हालेर वीपी प्रतिष्ठान धरान ल्याइएको छ ।
बिहिबार विहान संखुवासभाको मादीबाट झापाको दमकका लागि हिडेको बा ४ ख ७३५ नम्बरको रेशम फिलिलि नाम गरेको बस मादी स्थित सातधुम्ती भन्ने ठाउँमा दुर्घटनाग्रस्त भएको थियो । बस बाटोबाट करिव ३०० मिटर तल खसेको थियो । दुर्घटनामा चालक बसका मालिक आफैँ रहेका थिए भने उनको पनि मृत्यु भएको छ भने सहचालकको पनि मृत्यु भएको छ । गाडीका कन्डक्टर भने घाइते भएको बताइएको छ । सो गाडीका मालिक विपिन निरौलाले २ महिना पहिलामात्रै सो गाडी खरिद गरेको बताइएको छ ।
प्रतिक्रिया