संखुवासभामा बस दुर्घटनामा परी १५ जनाको मृत्यु भएको घटनामा मादी नगरपालिकाले मृतकको परिवारलाई एक लाख रुपैयाँ दिने भएको छ।
मादी नगरपालिकाको सोमबार बसेको कार्यपालिकाको बैठकले मृतकका परिवारलाई जनही एक लाख दिने निर्णय गरेको नगर प्रमुख विदुरकुमार लिंथेपले जानकारी दिए। यस्तै बैठकले घाइतेहरूलाई ५० हजार रुपैयाँ समेत दिने निर्णय गरेको हो।
गत बिहीबार बिहान मादी-६ स्थित सात घुम्तीमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो। चार जना घाइते समेत भएका थिए।
‘आज बसेको बैठकले मृतकका परिवारलाई एकएक लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने गरी निर्णय भएको छ,’ प्रमुख लिंथेपले भने।
उनका अनुसार मृतक तथा घाइतेको सम्झनामा भुमेश्वर महादेवको स्मारक समेत बनाउने गरी निर्णय गरिएको हो।
स्मारकमा घाइते तथा मृतकको नाम समेत लेखिने उनले बताए।
घाइते चार जनाको अवस्था सामान्य भएको र एक जनाको मेरुदण्डमै समस्या देखिएको उनले बताए।
मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका(६ को पुलुङस्थित सात घुम्तीमा दुर्घटना भएको हो।
मादी नगरपालिकाका मेयर विदुर लिंथेपका अनुसार सुरूमा बस पल्टिएपछि भीरमा बजारिएको थियो। बजारिएकै ठाउँमा ९ जनाको मृत्यु भएको पाइएको उनले जानकारी दिए। त्यसपछि बस पल्टिएर भीरमुनि पुग्दा अन्यको मृत्यु भएको हो।
प्रतिक्रिया