प्रदेश १ भलिबल टोलीको बिदाइ



विराटनगर : धनगढीमा हुन गइरहेको मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउने खेलाडीलाई प्रदेश १ सरकारले बिदाइ गरेको छ।

सुदुरपश्चिम प्रदेश सरकारको आयोजनामा चैत ७ गतेदेखि हुन लागेको प्रतियोगितामा प्रदेश १ बाट सहभागी टोलीलाई शनिवार सामाजिक विकासमन्त्री राजन राईले सुनसरीको इटहरीमा गरिएको कार्यक्रममा बिदाइ गरेका हुन्।

खेलाडीहरूलाई खेल पोशाक र राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै मन्त्री राईले उच्च मनोवलका साथ खेलमा सहभागी हुन आग्रह गरे। उनले प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याए प्रदेश सरकारले टिमलाई पुरस्कृत गर्ने समेत प्रतिवद्धता जनाएका छन्।

प्रदेश १ को टिम प्रशिक्षकमा दिनेश राई र व्यवस्थापकमा विनोद पाण्डे रहेका छन्। टिममा प्रकाश लावती लिम्बू (झापा), सन्देश विष्ट (भोजपर), दीलिप राई (ओखलढुङ्गा), मिलन श्रेष्ठ (तेह्रथुम), निश्चल थापा (उदयपुर), अनिल श्रेष्ठ (ओखलढुङ्गा), यामबहादुर कटुवाल (ताप्लेजुङ), अभिशेक थापा (ओखलढुङ्गा), हिमाल प्रसाईं (ताप्लेजुङ), संयोग नेम्बाङ (पाँचथर), दिनेश मगर (धनकुटा) र प्रविन कटुवाल (खोटाङ) छन्।

प्रतियोगितामा सहभागी हुने खेलाडीरुको छनोट प्रदेश १ भलिबल संघसँगको सहयोगमा सामाजिक विकास मन्त्रालयले गरेको थियो। खेलाडीलाई सामाजिक विकास मन्त्रालय  र प्रदेश १ भलिबल संघको सहकार्यमा दमक र धरानमा १५ दिनको बन्द प्रशिक्षण सञ्चालन गरिएको थियो।

बिदाई कार्यक्रममा मन्त्रालयका निमित्त सचिव फणिन्द्र खत्री, प्रदेश १ भलिबल संघका अध्यक्ष हरिबहादुर निरौला, अन्तर्राष्ट्रिय खेलाडी दीपक सापकोटा र पूर्वक्याप्टेन ऋषिराज आचार्य तथा प्रदेश भलिबल संघका पदाधिकारी, सामाजिक विकास मन्त्रालयका कर्मचारी लगायतको उपस्थित थिए।

सात वटै प्रदेश, तीन विभागीय टोली नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीसहित १० टिम सहभागी हुने प्रतियोगिता चैत ७ देखि १२ सम्म हुनेछ।

सम्बन्धित समाचार