संखुवासभाका सत्तरुढ गठबन्धन दलद्धारा घोषणापत्र सार्वजनिक (पूर्णपाठ सहित)



संखुवासभा । आसन्न मंसिर ४ गते हुन लागेको प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनका लागि संखुवासभाका लोकतान्त्रिक–बाम गठबन्धनमा आबद्ध दलहरुले घोषणापत्र सार्वजनिक गरेका छन् ।

बिहिबार सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलनको आयोजना गरि घोषणापत्र सार्वजनिक गरेका हुन् । संखुवासभाका गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जनमोर्चा नेपालले संयुक्त रुपमा घोषणा पत्र सार्वजनिक गरेका हुन् । ‘लोकतान्त्रिक गठबन्धनलाई भोट, सुखी, समृद्ध संखुवासभा निर्माण गर्ने अठोट’ भन्ने नारा सहित लोकतान्त्रिक–बाम गठबन्धनले १८ वटा प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

उक्त घोषणापत्रमा लोकतान्त्रिक–बाम गठबन्धनले सडक, शिक्षा, स्वास्थ्य, श्रम तथा रोजगार, खानेपानी तथा सिचाई, ऊर्जा तथा विद्युत्त, सुचना तथा संचार, कृषि तथा भूमिसुधार, पर्यटन तथा उद्योग, युवा तथा खेलकुद, वन तथा जडिबुटी, शान्ति सुरक्षा तथा सुशासन, सामाजिक न्याय र अधिकार, सहि बेपत्ता परिवार तथा घाइते योद्धा, कला साहित्य र भाषा संस्कृति, धर्म र संस्कार, खाद्य र आवास र महिला बालबालिका तथा जेष्ठ नागरिक लगायतका १८ वटा शिर्षकको घोषणापत्र सार्वजनिक गरेको हो । संखुवासभाका गठबन्धनलाई नै किन भोट भनेर २४ वटा बुदाँमा प्रतिबद्धता ब्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्र्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री तारामान गुरुङले मुलुकको विकास र समृद्ध नेपाल बनाउने जिम्मेवारी गठबन्धन दलको काँधमा आएको बताए । उनले संखुवासभाका नेकपा एमालेले जातीय नारा लगाएको प्रति असुन्तष्ट ब्यक्त गर्दै गठबन्धनले समावेशी र जातीय हिसाबले मिलाएर उम्मेदवार उठाएको बताए ।

कार्यक्रममा नेकपा माओबादी केन्द्र जिल्ला संयोजक टेकमान राईले नेकपा एमालेका अध्यक्ष केपी ओलीले पटक पटकसम्म गैरकानुनी ढंगले संसद विघटन गरेर मुलुक अधिनायकवाद लाद्न खोजेकाले मुलुक बचाउनका लागि गठबन्धन हुन परेको धारणा राखे । उनले गठबन्धन दल सत्ता प्राप्तिको लागि आएको नभई मुलुकको विकास र समुन्नत मुलुकको लागि बनेको जिकीर गरे ।

संखुवासभाका लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट प्रतिनिधीसभामा काँग्रेसका दिपक खड्का, प्रदेश (क)मा माओबादी केन्द्र राजेन्द्र कार्की र प्रदेश (ख)मा नेकपा एकीकृत समाजवादीका सरिता खड्का उम्मेदवार बनेका छन् ।

सत्तरुढ गठबन्धन दल संखुवासभाको घोषणा पत्र पढ्न यहाँ क्लिक गर्नुहोस ।

सम्बन्धित समाचार