साल्पासिलिछो साँस्कृतिक तथा साहित्यिक महोत्सव २०८३ सम्पन्न



खाँदबारी । साल्पासिलिछो साँस्कृतिक, नोक्छो तथा साहित्यिक महोत्सव-२०८३ भब्य रुपमा सम्पन्न भएको छ । साल्पासिलिछो गाउँपालिका र पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको आर्थिक सहयोग तथा साल्पा संरक्षण तथा पर्यटन प्रवर्द्धन विकास केन्द्र, साल्पासिलिछो भोजपुरको आयोजनामा बैशाख १८ गते साल्पासिलिछोस्थित माबु बजारमा महोत्सव सम्पन्न भएको हो ।

साल्पा संरक्षण तथा पर्यटन प्रवर्द्धन विकास केन्द्रको अध्यक्ष प्रमोद राईको अध्यक्षता तथा राष्ट्रिय गानका रचनाकार प्रदीप कुमार राई (व्याकुल माईला) को प्रमुख आतिथ्यतामा महोत्सव -२०८३ सम्पन्न भएको हो । महोत्सवमा साल्पासिलिछो गाउँपालिका भोजपुरका अध्यक्ष दौलथ कुलुङ, उपाध्यक्ष अस्मिता कुलुङ, प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडा, अरुण उपत्यका क्षेत्रका साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको थियो।

साल्पासिलिछोलाई प्रवर्धन गर्नका लागि यो कार्यक्रम आयोजना गरिएको आयोजक साल्पा संरक्षण तथा पर्यटन प्रवर्द्धन केन्द्रले जनाएको छ । महाेत्सवमा माैलिक साँस्कृतिक धामीहरुको भेला, धामी बिजुवाहरु विच सिप तथा विद्या पुस्तान्तरण, साँस्कृतिक लोक भाका सैराजाकाे संरक्षण तथा प्रवर्धन लगायतको उद्देश्य राखेर महाेत्सवको आयोजना गरिएको साल्पासिलिछो गाउँपालिका अध्यक्ष दाैलथ कुलुङले जानकारी दिनुभयो । महोत्सवमा साहित्यिक सम्मेलनको पनि आयोजना गरिएको थियो ।

महोत्सवमा मकालु साहित्य समाजका अध्यक्ष ताराबहादुर बुढाथोकी, उपाधयक्ष कृष्णप्रसाद चापागाई, सचिव भरत कुलुङ, सह-सचिव सनम थापा, सदस्य राजेन्द्र सरवहारा निरौला, सदस्य तारानाथ पोखरेल साथै संखुवासभा साहित्यिक समाजका अध्यक्ष बीरेश राई लगायतले साल्पा र सिलिछोबारे सृजना गरिएका कविता वाचन गरेका थिए ।

साल्पापोखरी र सिलिछो (सिलुछो)को विषयमा साहित्य सिर्जनाहरुमा समावेश गरि प्रवर्धन गर्न सहयाेग गर्ने ४ जना साहित्यकारहरुलाई सम्मान गरिएको छ । सर्जकहरु भरत कुलुङ, अजय अलङकार कुलुङ, हेमराज थुलुङ र युमन खालिङलाई महोत्सवको अवसरमा सम्मान गरिएको हो ।

सम्बन्धित समाचार