अपर अरुणमा लगानी गर्न हामी तयार छौ : कृष्णभगत प्रधान



संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णभगत प्रधानले संखुवासभास्थित अपर अरुण आयोजनामा उद्योग व्यवसायीलाई लगानी गर्ने बातावरण बनाउन सरकारसंग माग गर्नु भएको छ ।

काठमाडौँ जर्नालिष्ट एशोसियसनको कार्यालय काठमाडौँमा भएको भेटमा अध्यक्ष प्रधानले जिल्लाको गौरवको आयोजनामा संखुवासभाका उद्योगि व्यवसायी लगानी गर्न तयार रहेको बताउनुभयो । आफूले ज्ञापनपत्र मार्फत लगानीको सुनिश्चितताको ग्यारेण्टी गर्न सरकारसंग माग गरी सकेको भन्दै लगानीबाट उद्योगि व्यवसायीलाई बाहिर नराख्नको लागि आग्रह समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो आयोजना जिल्लावासीले बनाउने हो । यसमा सबैले लगानी गरेर अपनत्व ग्रहण गर्न सक्नु पर्छ । हामी लगानीको लागि तमतयार रहेर बसेका छौ, सरकारले यसको वातावरण चाडै मिलाई दियोस् ।’

उहाँले उद्योग वाणिज्यसंघ मार्फत सबै व्यवसायीलाई लगानीको लागि आग्रह गरी सकिएको भन्दै जनताको लगानीमा बन्न सक्ने आयोजना भएकाले यसमा विदेशी पूँजी आवश्यक नरहेको पनि प्रष्ट पार्नुभयो । स्थानीय भोटखोलावासी, संखुवासभावासी, भोजपुरवासी, स्थानीय सरकार, प्रदेश १ सरकार र विदेशमा रहेका संखुवासभाका नागरिक पनि यसमा लागनी गर्न तयार रहेको उहाँको भनाई थियो ।

संखुवासभाको भोटखोला आयोजना स्थल रहेको अपर अरुणको क्षमता १०६१ मेगावाट हो । आठ बर्षभित्र सम्पन्न गर्न सकिने यो आयोजनाका लागि झण्डै २ खर्ब ५० करोड रुपैया लाग्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार