काठमाडौं । त्रिकोणात्मक टी २० श्रृंखलाको उपाधिका लागि नेपालले आज पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध खेल्दैछ । खेल कीर्तिपुरस्थित टीयू मैदानमा दिउँसो १२:३० बजे सुरु हुनेछ ।
नेपाल, पीएनजी र मलेसिया सम्मिलित श्रृंखलामा नेपाल अपराजित रहँदै फाइनल पुग्दा पीएनजी दोस्रो भएर फाइनल पुगेको हो ।
नेपालले डबल राउण्ड रोविन लिगमा खेलेको चारवटै खेल जितेर उच्च लयमा छ । पीएनजीले भने ३ खेल हार्दा मलेसियालाई एक खेलमा मात्र हराएर २ अंक जोडेको थियो । मलेसियाले पनि १ खेल जित्दै उति नै अंक बनाएको थियो । तर नेट रनरेटमा भाग्यमानी बनेको पीएनजीले मलेसियालाई पछि पार्दै नेपालसँग फाइनल भिडन्त पक्का गरेको हो ।
कीर्तिपुरमै अघिल्लो साता भएको दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाको दुवै खेलमा नेपाल पीएनजीसँग पराजित हुँदै श्रृंखला गुमाएको थियो । त्यसपछि टी २० मा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपालल एकदिवसीमा व्यहोरेको हारको बदला लिँदै श्रृंखलाको उपाधि जित्ने लक्ष्यमा छ । हुन त नेपालले टी २० को दुवै लिग खेलमा पीएनजीलाई हराएर बदला लिइसकेको छ । तर फाइनल खेलमा पनि लिगको लय कायम राख्दै अपराजित रहेर उपाधि जित्ने नेपालको चाहना छ ।
फाइनलअघि आइतबार श्रृंखलाको विजेताले पाउने ट्रफी सार्वजनिक कार्यक्रममा नेपानलका कप्तान सन्दीप लामिछानेले यसअघि खेले जस्तै खेल्ने र दबावविना खेल्ने बताएका छन् । सन्दीपले कप्तानको रुपमा पहिलो पटक श्रृंखलाको फाइनल पुग्दा खुशी व्यक्त गरे ।
यस्तै उनले शनिवार मलेसियालाई अन्तिम लिग खेलमा हराएपछि पीएनजी विरुद्धको फाइनल महत्वपूर्ण रहेको भन्दै यसले आगामी खेललाई सहयोग गर्ने बताएका थिए । उनले भने, ‘फाइनल महत्वपूर्ण हुनेछ । यसपछि हाम्रो सम्भवत युएस टुर हुनेछ । त्यसको लागि पनि बुस्ट हुनेछ । फाइनललाई राम्रो तयारी भाछ । पीएनजी बलियो टिम हो, राम्रो खेलिराछ तर लिगमा चुकिराछ । हामीले चार गेम जितेर आइराछौँ । त्यसरी नै जान्छौँ र हामी डोमिनेट गर्ने प्रयास गर्छौँ ।’
उता पीएनजीका कप्तान असद भालाले भने नेपाल विरुद्धको खेल ठूलो रहेको भन्दै दबाब रहेको बताएका थिए ।
जारी श्रृंखलामा नेपालले पहिलो खेलमै पीएनजीलाई १५ रनले हराएर सुदख सुरुवात गरेको थियो । त्यसपछि दोस्रो खेलमा नेपाल ३७ रनले विजयी भयो । नेपालले मलेसियालाई पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ८५ रनले पराजित गरेको थियो ।
पीएनजीले मलेसिया विरुद्धको पहिलो खेल ८ रनले गुमाउँदा दोस्रो खेलमा ८ विकेटको जित निकालेको थियो ।
प्रतिक्रिया