संखुवासभाको सदरमुकाम समेत रहेको खाँदबारी नगरपालिकामा आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट सात जनाको चर्चा चुलिएको छ ।
१० वटा स्थानीय तह रहेको संखुवासभामा सबैभन्दा महत्वपूर्ण नगरपालिकाको रुपमा खाँदबारी नगरपालिकालाई लिइने गरिन्छ । खाँदबारी नगरपालिकाको मेयर बन्न काँग्रेसमा आँकाक्षीहरु बढ्दै गएका छन् ।
काँग्रेसबाट मेयरको दौडमा करिब एक दर्जनले दावी गर्ने बुझिएपनि हालसम्म पाँच जनाको चर्चा निकै चुलिएको छ । दुई जना महिला नेतृ र पाँच पुरुषको चर्चा निकै चुलिएको हो । त्यसबाहेक पूर्वजिल्ला सभापति दीपनकुमार श्रेष्ठ, उमेश चौहान, राम थापा र चित्ररेखा अधिकारी लगायत लाइन छन् भन्ने चर्चा हुने गरेको छ । अझै कतिपयले घोषणा गर्न बाँकी नै छन् । हालसम्म चर्चा शिखरमा उषा कार्की, निरु बस्नेत तामाङ, दिपेन्द्र बान्तवा, महेश थपलिला र अन्नत गौली हुन् ।
खाँदबारी–१ की उषा कार्की काँग्रेसका पुराना कार्यकर्ता मध्येका एक हुन् । पार्टीमा सधै सक्रिय कार्कीले अहिले सम्म लाभका पद पाएकी छैनन् । पुरुषले मात्रै नेतृत्व गर्न सक्छ भन्ने धारणा फेरिनुपर्ने बताउदै खाँदबारी नगरपालिकाको मेयरको दावी गरेकी छिन् । अवसर पाए काम गरेर देखाउने उनी प्रतिबद्धता ब्यक्त गर्छिन् ।
त्यसैगरि खाँदबारी–१ की निरु बस्नेत तामाङले पनि मेयरको दावी गरेकी छिन् । अघिल्लो निर्वाचनमा उपमेयरमा पराजित बनेकी तामाङ मेयरमा लड्ने बताईन् । जहिल्यै महिलाहरुले त्याग गर्नुपर्ने, नेतृत्व चाँही पुरुषले मात्रै गर्न सक्छ भन्ने पितृसत्तात्मक सोच नहटे सम्म महिलाले अवसर नपाउने बताउदै महिलाले पनि नेतृत्व गर्न सक्ने बताईन् । महिला संघको अध्यक्ष समेत रहेकी तामाङ आफु नेतृत्व गर्नका लागि पुरुष भन्दा कम नरहेको बताउछिन् ।
त्यस्तै खाँदबारी–१ का दिपेन्द्र बान्तवा लामो समय पत्रकारिता क्षेत्रमा सक्रिय थिए । उनी केहीसमय अघि भएको काँग्रेसको जिल्ला अधिबेसनबाट महाधिबेसन प्रतिनिधीमा निर्वाचीत बनेपछि पत्रकारिता छोडेर राजनीतिमा सक्रिय बन्दै आएका छन् । उनी आसन्न निर्वाचनमा खाँदबारी नगरपालिकाको मेयर बन्ने दौडमा छन् । उनले खाँदबारी नगरपालिकामा सर्वसुलभ शिक्षा, स्वास्थ्य, रिङ रोड, सार्वजनिक नगर यातायात लगायत विभिन्न क्षेत्रमा विकास गर्न सकिने भिजन दिदै आएका छन् ।
त्यसैगरि खाँदबारी–८ का महेश थपलियाको खाँदबारीको मेयरको उम्मेदवार बन्ने संम्भावना बलियो छ । अघिल्लो निर्वाचनमा पराजित बनेका थपलिया आफुले टिकट पाउनुपर्ने र जितेर देखाउने दौडमा छन् । उनी काम गर्न सक्ने ब्यक्तिको रुपमा चिनिन्छन् । पार्टीमा निकै संघर्ष गरेका तर अवसर नपाएको नेता हुन् ।
त्यसैगरि खाँदबारी–१ का अन्नत गौली पनि मेयरको दौडमा छन् । हक्की स्वाभावका गौली टिकट पाए जितेर देखाउने बताउँछन् । राजनैतिक पृष्ठभुमिमा हुर्किएका गौली सहि नेतृत्व आए मात्रै विकास र परिवर्तन हुने बताउँछन् ।
११ वटा वडा रहेको खाँदबारी नगरपालिकामा ०७४ को स्थानीय तहमा नेकपा एमालेले जितेको थियो ।
प्रतिक्रिया