संखुवासभाको चैनपुर नगरपालिकामा नेपाली कांग्रेसले ज्ञानबहादुर कार्कीलाई मेयर र अञ्जना लिङथेपलाई उपमेयर पदको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । सोमबार बसेको नगर कार्यसमितिको बैठकले कार्कीलाई मेयर र लिंथेप लाई उपमेयर पदको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको नगरसभापति शंकरमान कँडेलले जानकारी दिए ।
जिल्ला कार्य सम्पादन समिति सदस्य कार्की यसअघि महासमिति सदस्य, जिल्ला उपसभापति तथा तत्कालीन सिद्धकाली गाविसका अध्यक्ष भइसकेका हुन् भने उपमेयरका प्रत्यासी लिङथेप यसअघिको स्थानीय निर्वाचनमा उपमेयरकै प्रत्यासी थिइन् ।
नगरमा पाँचजना मेयरका आकांक्षी थिए । तर नगर सभापति कडेलले कार्कीलाई मेयर पदमा उम्मेदवार बनाउनुपर्छ भन्ने प्रस्तावमा सर्वसम्मत निर्णय जुटेको थियो । मेयरका अन्य आकांक्षीहरुमा जिल्ला सचिव कुमारबाबु अधिकारी, महासमिति सदस्य दिपक लिम्बू प्रदेश क्षेत्रीय (ख)का सभापति दिपेन्द्रमान शाक्य र प्रदेश महाधिवेशन प्रतिनिधि गोकुल खत्री रहेका थिए ।
देशभरि नै नेपाली कांग्रेसभित्र को उम्मेदवार बन्ने बहस चलिरहेका बेला संखुवासभा चैनपुर नगरपालिकाले सर्वसम्मत उम्मेदवार छनोट गरेर उदाहरण प्रस्तुत गरेको छ । जिल्ला उपसभापति रामकुमार जिमीको समन्वय तथा नगरसभापति कँडेलको सुझबुझ निर्णयले सर्वसम्मत उम्मेदवार छनोटमा सहयोग पुगेको कांग्रेसजन बताउँछन् । यो सर्वसम्मत निर्णयले देशभरि नै कांग्रेसजनमा सकरात्मक सन्देश जाने उपसभापति जिमीले बताए ।
नेपाली कांग्रेस चैनपुर नगरपालिकालाई एक ढिक्का बनाएर नगर सभापति कँडेलले पद त्याग गरेका छन् । उनले नगर समितिको कार्यवाहक सभापति लवकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । श्रेष्ठ नगर उपसभापति हुन् ।
प्रतिक्रिया