खाँदबारी नगरपालिकामा माओवादीबाट मेयरमा दिव्यराज र उपमेयरमा मालती सर्वसम्मत



खाँदबारी । संखुवासभाको खाँदबारी नगरपालिकामा नेकपा (माओवादी केन्द्र)ले मेयर पदमा दिव्यराज बराल र मालती भण्डारीलाई उपमेयर पदमा सर्वसम्मत चयन गरेको छ । सोमबार बसेको माओवादी नगर कमिटिको बैठकले खाँदबारीको मेयर र उपमेयर पदको उम्मेदवार सर्वसम्मत घोषणा गरेको माओवादी केन्द्र नगर कमिटिले जनाएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सतारुढ पाँच दलको गठबन्धन नहुने भएपछि माओवादीले केन्द्रले खाँदबारी नगरपालिकाको मेयर उपमेयरका लागि उम्मेदवारको टुङ्गो लगाएको छ ।

मेयर र उपमेयर पदका आकंक्षीहरु विचको समझदारी पछि सर्वसम्मत उम्मेदवारी चयन गरेको नगर अध्यक्ष वीरबहादुर लिम्बुले जानकारी दिए । माओवादीले जिल्लामनै पहिलो पटक खाँदबारीमा सर्वसम्मत उम्मेदवारी घोषणा गरेको हो । पाँच दलिय गठबन्धनमा खटपट सुरुभएपछि माओवादीले उम्मेदवारी छनौट सुरु गरेको छ । खाँदबारी नगरको मेयर र उपमेयर घोषण संगै वडा अध्यक्ष र अन्य सदस्यहरुको पनि चाँडै सर्वसम्मत चयन गरिने नगर अध्यक्ष लिम्बुले बताए । अन्य पालिकामा पनि उम्मेदवारको चाडै टुङ्गो लगाउने माओवादी केन्द्रले जनाएको छ ।

नेपाली काँग्रेसले एकपक्षीय रुपमा गठबन्धन टुटेको घोषणा गरेपछि माओवादीले एकल उम्मेदार घोषणा गरेको बताएको छ । पाँच दलीय गठबन्धनमा भागबण्डामा कुरा नमिलेपछि नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी गठबन्धन छाडेर बाहिरीएका थिए । जिल्लामा पटक पटक गठबन्धनको बैठक बस्दा पनि भागबन्डा मिल्न नसकेपछि गठबन्धन दलमा खटपट सुरु भएको थियो । हालसम्म दलमध्ये काँग्रेसले मादी र पाँचखपन नगपालिका सहित दुई स्थानीय तहमा मात्रै उम्मेदवार टुङ्गो लगाएको छ ।

सम्बन्धित समाचार