काठमाडौं । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ११ बढुवेशीमा भएको सवारी दुर्घटनामा मृत्यु हुने पाँचैजनाको सनाखत भएको छ।
दुर्घटनामा सिन्धुली कमलामाई नगरपालिका ७ का ३० वर्षीय विक्रम श्रेष्ठ, सोही नगरपालिका ४ का ४५ वर्षीय हरिबहादुर बल, सुनकोशी गाउँपालिका १ की ४४ वर्षीया प्रमिला नेपाली, रामेछापको खडादेवी गाउँपालिका ८ बस्ने अन्दाजी ३० वर्षकी सम्झना भुषाल र उनका छोरा ३ वर्षका संगीत भूषालको मृत्यु भएको काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिए।
उनका अनुसार १८ जना घाइते भएका छन्। घाइतेमध्ये १० जना भारतीय र ८ जना नेपाली छन् भने मृत्यु हुने सबै नेपाली हुन्। तीमध्ये एक जना सिकिस्त छन् भने ४ जनाको स्वास्थ्य अवस्था मध्यम तथा १२ जनाको अवस्था सामान्य रहेको छ।
घाइतेमध्ये कमलामाई नगरपालिका ५ का ३ वर्षीय बालक आवाज नेपालीको अवस्था गम्भीर छ। उनका बाबु ३० वर्षका सरोज नेपाली, २६ वर्षीया आमा आयुशिखा नेपाली र फुपू दिदी ३४ वर्षीया शर्मिला नेपाली पनि घाइते भएका छन्।
कमलामाई नगरपालिका ६ की २० वर्षकी शितल भण्डारी, उनकी बहिनी १५ वर्षकी श्रीया भण्डारी, सोही नगरपालिकाका ३५ वर्षका दिल्लीबहादुर विष्ट र ६२ वर्षकी प्रेमकुमारी बस्नेत पनि घाइते भएका छन्।
यसैगरी भारतको छत्तिसगढ बस्ने ६२ वर्षका प्रेमशंकर यादव, उनकी श्रीमती ५७ वर्षकी आशादेवी यादव, ५८ वर्षकी पुनम गोस्वामी, ७० वर्षकी जमुना बाई, ६० वर्षका तुलसी यादव, ५० वर्षकी बहुरा यादव, ४८ वर्षीया विमला पुरी, ४७ वर्षकी भगवती साह, ७२ वर्षीय कमला गोस्वामी र ५० वर्षकी गीता पाण्डे पनि घाइते भएका छन्।
घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको डिएसपी खतिवडाले जानकारी दिए। भारतीय तीर्थयात्री बोकेको यू पी ५८ टी ८१८१ नम्बरको मिनी बस र काठमाडौं आउँदै गरेको ना १ ज ४२१० नम्बरको टाटा सुमो ठोक्किँदा आज दिउँसो दुर्घटना भएको थियो।
प्रतिक्रिया