ताम्कु । सिलिचोङ गाउँपालिकामा नेपाली कांग्रेसको प्रवेशसँगै विकासले गति लिएको पुर्व स्वास्थ्य राज्यमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य तारामान गुरुङले बताउनु भएको छ । सिलिचोङ कांग्रेसले बुधबारेमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
दशकौंसम्म कम्युनिष्टले शासन गरेको सिलिचोङ गाउँपालिकामा नेपाली कांग्रेस प्रवेश गरेपछि मात्र सवै क्षेत्रमा विकास हुन थालेको उहाँले दावी गर्नुभयो । आफु संविधान सभाको सदस्यको रुपमा निर्वाचित भएपछि बजेट विनियोजनमा सिलिचोङलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै कांग्रेसले त्यसलाई निरन्तरता दिएको बताउनुभयो । सिलिचोङ गाउँपालिका प्रवेशको लागि डुम्मा भिर छिचोल्न ५ करोड रुपैयाँ बजेट उपलब्ध गराएपछि अहिले सडक सञ्जाल सहजरुपमा जोडिएको गुरुङले बताउनुभयो । सिलिचोङ क्षेत्रमा विद्युत विस्तार, शिक्षा, स्वास्थ्य लगायतमा गरेको लगानीमा पालिकाले पनि निरन्तरता दिएको गुरुङले बताउनुभयो ।
२०७४ को स्थानीय तहको निर्वाचनमा पनि नेपाली कांग्रेसको उमेदवार राम बहादुर कुलुङलाई निर्वाचित गराएर सिलिचोङले विकासको ढोका खोलेको गुरुङले बताउनुभयो । पाँच बर्षको कार्यकालमा रामबहादुर कुलुङ नेतृत्वको सरकारले गरेको विकासको पनि गुरुङले प्रशंशा गर्नुभयो । अहिले प्राय सवै वडामा यातायात, विद्युत, स्वास्थ्य, शिक्षा लगायतमा आमुल परिवर्तन गरेको बताउनुभयो ।
यस पटक पनि योग्य, शिक्षित तथा क्षमतावान युवा भुपालराज मेवाहाङको नेतृत्वको टोलीलाई नेपाली कांग्रेसले उमेदवार बनाएकोले सवैले रुख चिन्हमा मतदान गर्न आव्हान गर्नुभयो ।
प्रतिक्रिया