वर्षातका कारण भोजपुरका पाँच स्थानीय तहको यातायात सेवा अवरुद्ध भएको छ ।
वर्षाले ग्रामीण भेगका कच्ची सडक हिलाम्य भएका छन् । यातायात बन्द हुँदा स्थानीयलाई आवतजावतसँगै दैनिक उपभोग्य वस्तु ढुवानी गर्न समस्या भएको छ ।
दक्षिणी क्षेत्रमा पर्ने रामप्रसाद राई, हतुवागढी र आमचोक गाउँपालिका तथा उत्तरी क्षेत्रका षडानन्द नगरपालिका र साल्पासिछिलो गाउँपालिकाको यातायात सेवा बन्द छ ।
सडक हिलाम्य बन्दा आवतजावत बन्द भएको हो । सडक हिलाम्य भएपछि कृषकले उत्पादन गरेका कृषि उपजसँगै दूध सङ्कलनमा समस्या भएको छ । मर्मतमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयको माग छ ।
गणेशस्थान दुग्ध उद्योगका सञ्चालक रमेश कार्की दुग्धजन्य पदार्थ सङ्कलनमा समस्या भएको बताउँछन् । ‘कष्टपूर्ण यात्रा गरेर कृषि उपज बजारसम्म लैजानु पर्छ’, उनले भने ।
सडक अवरुद्ध भएपछि सुत्केरी र बिरामीलाई समस्या भएको छ । दैनिक उपभोग्य वस्तु ढुवानी गर्न कठिनाइ भएको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका सन्तोष विष्टले बताए ।
सदरमुकामबाट खोटाङको पाँचधारे बजारसम्म सञ्चालन हुने सडक पनि बन्द छ । भोजपुर–लेगुवा (६६ किलोमिटर) सडक र भोजपुर–चखेवा (४२ किलोमिटर) सडक भने सञ्चालनमा छ ।
प्रतिक्रिया