इन्द्र दाइ ! तपाईँ अमर हुनुहुन्छ : आरडी कुलुङ



इन्द्र दाइ ! तपाईँ अमर हुनुहुन्छ !

नेपाल किरात कुलुङ भाषा सँस्कृति उत्थान संघ, केन्द्रीय कार्य समितिका महासचिव इन्द्रबहादुर कुलुङको २०७९ भाद्र २४ गते अल्पायुमा नै निधन भएको छ । वहाँको निधनले सिंगो कुलुङ समुदायले एक भरपर्दो अभिभावक गुमाएको छ । समुदायलाई अपुरणीय क्षती पुगेको छ । इन्द्र कुलुङ जस्तो समुदायका लागि निस्वार्थ रुपले सम्पूर्ण रुपमा जीवन अर्पण गर्ने मानिस विरलै हुन्छन् । इन्द्र कुलुङ एक विरलाकोटीका विद्वान सामाजिक व्यक्तित्व हुनुहुन्थ्यो ।

सरकारी जागिर छाडेर लामो समय अन्तराष्ट्रिय गैह्रसरकारी संस्था एक्सन एड, नेपालको विभिन्न पदमा काम गर्नु भयो । आदिवासी स्वः पहिचान र अधिकारको आन्दोलन विश्वव्यापी रुपमा विकसित हुँदै आउँदा स्वभाविक ढङ्गले इन्द्र कुलुङ पनि त्यसको एक अंश बन्नु भयो । आफ्नो समुदायको उन्नती र प्रगतिका लागि जीवन अर्पण गर्ने निधो गर्नु भयो । त्यसको उदाहरण ः आइएनजिओको आकर्षक जागिर छाडेर पूर्णरुपले कुलुङ लगायतका आदिवासीहरुको अधिकार प्राप्तिका लागि लाग्नुले प्रष्ट पार्छ ।

विगत १८ बर्षदेखि अनवरत रुपमा कुलुङ संघको महासचिव भएर समुदायको सेवामा समर्पित हुनुहन्थ्यो । नेपालका आदिवासी जनजातिहरुको सशक्तिकरणका लागि काम गर्न आदिवासी जनजाति गैह्रसरकारी संस्था महासंघ स्थापना गर्नमा पनि वहाँको योगदान रह्यो । त्यसको कार्यकारी निर्देशक भएर ५ बर्ष नेतृत्व गर्नु भयो । त्यस्तै सबै किरात समुदायलाई एकतृत गर्न आदिवासी किरात महासंघ स्थापना गर्नमा योगदान रह्यो ।

आफूले कमाएको सम्पत्तिको अधिकांश भाग समुदायकै लागि अर्पण गर्नु भयो । करिब डेडदशकदेखि कुनै लाभको पदमा नबसी निजी खर्चमा संस्था र समुदायका लागि कृयाशिल हुनुहुन्थ्यो । आफ्नो क्षमताले भ्याएसम्म कुलुङ समुदायकै जागरण, अभिलेखीकरण, साँस्कृतिक खोज अनुसन्धान, संगठन विस्तारमा अहोरात्र खट्नु भयो । अनगिन्ती मानिसहरुसँग संवाद गर्नु भयो । उक्त कुरा जनजनले महशुस गरेका छन् । त्यसको प्रमाण वहाँको निधन पश्चात सामाजिक सञ्जालमा लेखिएका ट्रिब्युटहरुले देखाउँछ ।

इन्द्र कुलुङ लामो समयदेखि मधुमेह र उच्चरक्त चापले पीडित हुनुहुन्थ्यो । त्यसको असरले विस्तारै आँखा कमजोर हुँदै गयो । केही बर्ष अगाडि एउटा आँखा पूर्ण रुपले काम नलाग्ने भएको थियो । करिब तीन बर्ष पछाडि गत पौषमा भेट्दा थाहा भयो, अर्को आँखा पनि दृष्टिहिन भइसकेको रहेछ । आफ्नै निजी परिवार नहुनु र सधैं समुदायका लागि फिल्डमा खटेर हिँड्नु पर्दा स्वास्थ्यमा आवश्यक ख्याल पुर्याउन सक्नु भएन । पछिल्लो समय दुबै मृगौलाले काम नगर्नु, मुटुमा समस्या देखिनु र आन्द्रामा समेत क्यान्सर देखिनु एक्कै चोटि भइदिँदा स्वास्थ्यमा सुधार आउन सकेन ।

इन्द्र कुलुङले कुलुङ समुदाय र आदिवासी जनजातिहरु बारे थुप्रै अध्ययन अनुसान्धन गर्नु भएको छ । आफ्नो समुदायलाई चिनाउन दस्तावेज र पुस्तक लेख्नु भएको छ । संस्थाहरु निर्माण गर्नु भएको छ । संस्थागत विकासको अनेक प्रयत्न गर्नु भएको छ । वहाँको योगदानबाट कुलुङ र अन्य आदिवासी समुदायले पछिसम्म लाभ प्राप्त गरिरहनेछ ।

अर्को वहाँको शालिनता अनुकरणीय थियो । एक पटक एक जना भाइले भनेको सम्झन्छु– इन्द्र दाइलाई, दाइ ! तपाईँलाई गोदछु है भनियो भने नि वहाँले हुन्छ नै भन्नु हुनेछ । वहाँ जस्तो शालिन मानिसको गृहस्थी भने बस्न सकेन । पारिवारिक स्रोतका अनुसार वहाँले विहे गर्नु भएको महिला न त सँगै बस्न आउनु भयो, न त सम्बन्ध विच्छेद गरेर मार्ग प्रसस्त गर्न मान्नु भयो । त्यसले गर्दा इन्द्र कुलुङ जस्तो सरल र इमानदार मानिसलाई अर्को परिवार सृजना गर्न नैतिक कठिनाइ हुँदा एक्लै बस्नु भयो ।

इन्द्रबहादुर कुलुङको जन्म सूर्योदय नगरपालिका ७, इलाममा २०१५ मंसिर ३० गते भएको थियो । बाबु डिल्लीमान कुलुङ र आमा पञ्चमाया बान्तावाको कोखबाट जन्मनु भएका इन्द्रले जम्मा ६४ बर्ष बाँच्नु भयो । वहाँले अध्ययनका क्रममा ग्रामीण विकास र व्यवस्थापनमा स्नातकोत्तर गर्नु भएको थियो । विद्याबारिधी पुरा नगर्दै वीर अस्पताल, काठमाडौंमा अन्तिम स्वास लिनु भयो ।

शालिन, परिपक्व, उच्चशिक्षित एवं बौद्धिक व्यक्तित्व इन्द्रको अभाव लामो समय कुलुङ समुदायमा खड्कने छ । वहाँ कुलुङ समुदायको भावनात्मक एकताका लागि एक आइकन हुनुहुन्थ्यो । इन्द्रको जीवन समाप्त भएपनि विचार र योगदान जीवन्त रहनेछ । कुलुङ संघ नेतृत्वले इन्द्रको सपना पुरा गर्ने प्रयास जारी राख्ने विश्वास छ । इन्द्र दाइ तपार्इँ कुलुङ समुदाय रहेसम्म अमर रहनु हुनेछ । अलविदा !

सम्बन्धित समाचार