राष्ट्रपतिबाट कैद मिनाहा भएको डेढ महिना नबित्दै अर्को हत्यामा संलग्न



संविधान दिवसको दिनमा राष्ट्रपतिले आममाफी र कैद मिनाहा गर्ने चलन छ। कैदीको असल चालचलन र मुद्दाको प्रकृति हेरेर राष्ट्रपतिले आममाफी र कैद मिनाहा गर्छन्।

यस वर्षको असोज ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले अदालतबाट दोषी ठहर भएर विभिन्न कारागारमा कैद जीवन बिताइरहेका २१ जनालाई आममाफी र ६८१ जनाको ५० प्रतिशत कैद मिनाहा घोषणा गरेकी थिइन्। यी ६८१ जना मध्येका एक थिए नवलपुरको गैंडाकोट–७ का ३४ वर्षीय सुरेशबहादुर कुमाल।

दस वर्षअघि कात्तिक ११ गते आफ्नै हजुरआमा र काकीको हत्या गरेका थिए उनले। त्यो अभियोग प्रमाणित भएपछि कुमाललाई नवलपरासी जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। मकवानपुरको भिमफेदी कारागारमा कैद भोगिरहेका कुमाललाई असल चालचलन भएको भन्दै राष्ट्रपतिले माफी दिइन्। कैदमुक्त भएपछि कुमाल कारागारमा चिनजान भएका जीवन नेपाली नामका व्यक्तिलाई खोज्दै माडी पुगे।

जबरजस्ती करणीको मुद्दामा कारागार पुगेका थिए जीवन। सुरेश भन्दा केही समयअघि छुटेका उनी माडी–४ शितलपुर घोसरीमा बस्थे। कारागारमा दोस्ती भएका सुरेशलाई भेट्दा जीवन खुसी भए। आफ्नै दाइको फर्निचर उद्योगमा काम लगाइदिए। काम दाइकोमा गरे पनि सुत्न भने सुरेश जीवनकै घरमा जान्थे।

सामान्य तरिकाबाट दिन चल्दै थिए शुक्रबार साँझतिर मदिरा सेवनपछि उनीहरूकाबीचमा भनाभन भयो। रिसले भाउन्न भएका सुरेश घरमा अरू कोही नभएको समयमा जीवनको कोठामा छिरे।

पछाडिबाट धारिलो हतियारले टाउकोमा प्रहार गरे। टाउको पटक–पटक प्रहार गरेपछि घाँटीको रूद्रघण्टीमा रेटी आफ्नै साथीको विभत्स हत्या गरे। संयोग दस वर्षपछिको हत्याको मिति पनि कात्तिक ११ नै पर्‍यो।

सुरेश यत्तिमै रोकिएनन्। आडैको घरमा बस्ने ४० वर्षीया रूपा नेपालीमाथि उनी जाइलागे। काठमा सुतिरहेकी रूपाले लगाएको सुनको रिङ कानको लोती नै च्यातिनेगरी लुछे, अनि घाँटी थिचे। मरेको बुझेपछि उनी त्यहाँबाट भागे।

परिवारका सदस्यले खबर गरेपछि प्रहरी घटनास्थल पुग्यो। हत्या संलग्नको खोजी थाल्यो। जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय माडीबाट खटेको प्रहरी टोलीले सुरेशलाई करिब ७ घण्टापछि माडीकै बसन्तपुरबाट नियन्त्रणमा लियो।

घटनास्थलबाट पक्राउ परेको स्थान करिब ५ किलोमिटर पर पर्छ। ‘बसन्तपुरको भित्री बाटोमा शंकास्पद रूपमा लुक्दै हिँडिरहेको अवस्थामा सुरेशलाई नियन्त्रणमा लिएका छौं। हिरासतमा राखेर थप अनुसन्धान चलिरहेको छ,’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नवराज अधिकारीले भने।

अधिकारीकाअनुसार अभियुक्तले जीवनको हत्या गरेको स्वीकार गरेका छन्। जीवनसँग खानाको विषयमा भनाभन भएपछि आवेगमा हत्या गरेको बताएको अधिकारीले बताए। जीवनको हत्या गरेपछि नजिकै रहेकी घटनाको चाल पाएको आशंकामा रूपाको पनि हत्या गर्न खोजेको देखिएको उनले बताए।

‘आडैको घरकी महिलाले सबै कुरा चाल पाइहोला भनेर कोठामा पुग्दा कानमा सुन देखेपछि खोल्न खोज्यो, लुछेर लियो। यसै छाड्न भएन भनेर घाँटी अठ्यायो, अब मरी भन्ने भएपछि छाडेर भाग्यो तर उनी बाँचिन्,’ अधिकारीले घटना विवरण सुनाए।

उनले घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली खटेर पक्राउ गर्न सफल भएको बताए। ‘पहिले आफ्नै परिवारको हत्या गर्ने, यत्रो जगन्य अपराधमा संलग्नलाई माफी दिइने, छुटेपछि ऊ फेरि हत्यामै लाग्ने अवस्थाले समाज कुन दिशातर्फ गइरहेको छ भन्ने देखाउँछ,’ एसपी अधिकारी भन्छन्, ‘राज्यले आममाफी दिने, कैद मिनाहा गर्ने व्यक्तिको विषयमा विचार गर्नुपर्ने देखियो, यस्ता घटनाबाट पाठ सिकेर त्यही अनुसार कानुनको कार्यान्वयन हुनुपर्ने देखिन्छ।’

आफ्नै हजुरआमा र कार्कीको हत्या गरेर जेल परेका कारण परिवारका अन्य सदस्यहरूसँग सुरेशको राम्रो सम्बन्ध नभएको र जेलमा साथी बनेका जीवनले काम लगाइदेलान् भनेर सिधै माडी गएको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरीका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।

‘छुटेपछि गाउँ जान लाज भएको पनि हुनसक्छ, साथी खोज्दै सुरूमै माडी पुगेको देखिन्छ,’ पण्डित भन्छन्, ‘थप कुरा अनुसन्धान भइरहेको छ।’

 

सम्बन्धित समाचार