चिचिला । संखुवासभामा पाँचदलीय गठबन्धनका साझा प्रतिनिधिसभा उम्मेदवार तथा कांग्रेस जिल्ला सभापति दीपक खड्काले जिल्लाका सबै पालिकाहरूलाई विकासको गुरुयोजना तयार पार्न आग्रह गरेका छन्।
चिचिला गाउँपालिकाको केन्द्र चिचिला बजारमा बुधबार सम्पन्न चुनावी सभालाई सम्बोधन गर्दै खड्काले भने, ‘काम गर्न सक्ने गरीको बजेट ल्याउने जिम्मा हाम्रो भयो, तपाईंहरू पालिकाको विकासका लागि गुरुयोजना तयार पारेर बस्नोस्।’
‘खानेपानी कहाँबाट ल्याउने, अस्पताल कुन स्तरको बनाउने, विद्यालयहरू कस्तो बनाउने, पालिकाभित्रका सडकहरू कस्तो बनाउने भन्ने गुरुयोजना नै तयार गर्नुहोस्,’ खड्काले भने, ‘हामी (गठबन्धन) संखुवासभाका १० वटै पालिकामा यही आग्रह गरिरहेका छौं। बजेटको कमी हुन नदिने गरी र काम समयमै सम्पन्न गराउने गरी काम गर्नुहोस्।’
जिल्लामा ठूल–ठूला आयोजनाहरू कार्यान्वयनमा रहेको र संखुवासभा प्राकृतिक स्रोतको धनी जिल्ला रहेको उल्लेख गर्दै खड्काले यसलाई प्रदेश–१ कै सम्पन्न जिल्ला बनाउने सकिने प्रचुरता रहेको औंल्याए। पाँच हजार मेगावाटभन्दा बढी विद्युत उत्पादनको क्षमता रहेको संखुवासभामा यहाँका बासिन्दालाई त्यसको लाभांश दिलाउन आफूहरू लागिपरेको खड्काले बताए।
अरुण तेस्रो जलविद्युत आयोजनाले नेपाल सरकारलाई २०० मेगावाट बिजुली निःशूल्क दिने सम्झौता रहेको र त्यसको २५ प्रतिशत आम्दानी जिल्लाले पाउनुपर्नेमा आफूहरूको जोड रहेको खड्काले बताए। ‘यो सम्भव छ। र, त्यो २५ प्रतिशत संखुवासभाको विकास निर्माणमा लगाउने छौं,’ खड्काले भने, ‘कार्यान्वयन हुँदै गरेका अन्य आयोजनाबाट पनि त्यसरी नै लाभ लिने गरी हामी अगाडि बढ्छौं। संखुवासभालाई समृद्ध बन्न समय लाग्दैन।’
अर्को प्रसंगमा उनले खाँदबारी–किमाथांका सडक आगामी १५ महिनामा ट्र्याक ओपनिङ सम्पन्न हुने र त्यस सँगसँगै स्तरोन्नती अगाडि बढ्ने जानकारी दिए।
चुनावी प्रतिस्पर्धी एमालेले आफूहरूले गरेको काम आफूले गरेको भन्दै गलत प्रचार गरिरहेको उनले उल्लेख गरे। चुनावी घोषणापत्रमा एमालेले आफ्ना जनप्रतिनिधिलाई जानकारी नै नभएका विकास परियोजना आफूले गरेको भन्दै झुटै झुट उल्लेख गरेको खड्काले बताए।
‘कांग्रेस केन्द्रीय सदस्य तारामान गुरुङ स्वास्थ्यमन्त्री हुँदा हरेक पालिकामा १५ बेडको अस्पताल निर्माण गर्ने योजना ल्याउनुभयो, एमालेका निवर्तमान सांसद राजेन्द्र गौतमले पाँच बेडमा झारिदिनुभयो,’ खड्काले भने, ‘०७० सालमा आफूहरू निर्वाचित भएर राज्यमन्त्री बन्दा त्यतिबेला दुवै निर्वाचन क्षेत्रमा हामीले रिङरोड निर्माण अगाडि बढाएका थियौं। ती रिङरोड राजेन्द्र गौतमले रातो किताबबाटै हटाइदिनुभयो। अनि १० करोड रुपैयाँ खर्च भइसकेको रिङरोडको योजना नै हटाइदिएर कहाँ छ रिङरोड भन्दै हिँड्नुभयो।’
रिङरोड कालोपत्रे गर्न ६७ करोड रुपैयाँ विनियोजन भएकामा गौतमले उक्त बजेट नै रद्द गराइदिएको, पाँचखपनमा निर्माणाधीन मोटरेबल पुल कांग्रेसको मेयरले जित्यो भनेर पुल नै बन्न नदिएको खड्काले उल्लेख गरे।
प्रतिक्रिया