स्वास्थ्यकर्मीलाई निर्वाचनमा खटाउँदा बर्थिङ सेन्टर बन्द



खाँदबारी । सभापोखरी गाउँपालिकाको बर्थिङ सेन्टरको कर्मचारी निर्वाचनमा खटिदा सेवा प्रभावित भएको छ । पालिकाको दुई वटै बर्थिङ सेन्टरको स्वास्थ्यकर्मीहरु निर्वाचनमा खटाईएपछि एक हप्तासम्म सेवा बन्द हुने भएको हो ।

कातिक ३० देखि मंसिर ६ सम्म दुवै बर्थिङ सेन्टरका स्वास्थ्यकर्मी निर्वाचनमा खटाईएको गाउँपालिकाले जनाएको छ । सो अवधिमा स्वास्थ्य संस्थाहरुबाट दिईने सेवा बन्द भएकोले जिल्ला अस्पताल खाँदबारी जानु पर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुकु प्रसाद आचार्यले जानकारी दिनुभयो । सो अवधिका लागि गाउँपालिकामा रहेको एम्बुलेन्स र गाउँपालिकाको गाडी उपलब्ध गराईने अधिकृत आचार्यले बताउनुभयो । पालिकाको केन्द्रसम्म रहेको बाह्रविसे बर्थिङ सेन्टरबाट जिल्ला अस्पताल पुग्न करिव अढाई घण्टा लाग्छ । अर्को धुपु बर्थिङ सेन्टरबाट भने करिव एक घण्टा लाग्ने गरेको छ ।

स्वास्थ्य जस्तो अत्यावश्यक सेवा बन्द गरिएपछि स्थानीयले गाउँपालिकाको आलोचना गर्न थालेका छन् । निर्वाचनमा अन्य क्षेत्रका कर्मचारी मात्र खटाएर स्वास्थ्य क्षेत्रको सेवा प्रभावित पार्न नहुने सभापोखरी गाउँपालिकाका अनुप चापागाईको भनाई छ । यस विषयमा कर्मचारी सिफारिस गर्ने गाउँपालिका र खटाउने जिल्ला निर्वाचन कार्यालय संवेदनशिल हुनु पर्ने चापागाईको भनाई छ ।

निर्वाचन परिचालन कार्यविधि अनुसार सम्बन्धित कार्यालयले खटाउन सकिने र नसकिने कर्मचारीहरुको बिवरण मागिएको जिल्ला निर्वाचन कार्यालय सङ्खुवासभाका निमित्त प्रमुख रामेश्वर निरौलाले जानकारी दिनुभयो । सभापोखरी गाउँपालिकाको बर्थिङ सेन्टरका स्वास्थ्यकर्मीहरु पनि निर्वाचनमा खटाउन सकिने लिष्टमा प्राप्त भएकोले सोहि अनुसार जिम्मेवारी दिईएको निरौलाले जानकारी दिनुभयो । निर्वाचनमा खटाउँदा आफुहरुलाई अत्यावश्यक सेवा क्षेत्रको कर्मचारी रहेको समेत थाहा नभएको निरौलाले जानकारी दिनुभयो । हाल उनीहरुले तालिम लिई सेवा क्षेत्रमा खटिसकेकोले फिर्ता बोलाउन नसकिने निरौलाले स्पष्ट पानुभयो ।

सम्बन्धित समाचार