धर्मदेवी । पत्रकार महासंघ संखुवासभाको ११ औं साधारण सभा धर्मदेवी नगरपालिकाको मुढे बजारमा सम्पन्न भएको छ । साधारण सभा १२ बुँदे धर्मदेवी घोषणा पत्र जारी गर्दै विहिबार सम्पन्न भएको हो ।
साधारण सभाले संखुवासभामा सञ्चालित संचार संस्था र त्यसमा कार्यरत सञ्चारकर्मीहरुको बृत्ति विकासको लागि सवै तहका सरकारसँग आग्रह गर्ने, जिल्लामा उत्पादन हुने जलविद्युत परियोजनामा जिल्लावासीहरुलाई सञ्चालक शेयर उपलब्ध गराउन सम्वन्धित पक्षलाई अनुरोध गर्ने लगायतका विषयहरु घोषणा पत्रमा समावेश गरिएको छ ।
त्यस्तै, धर्मदेवी नगरपालिका ३ मुढे बजार तथा आसपासका क्षेत्रहरुमा रहेको अब्यवस्थित बसोवास तथा लालपुर्जा समस्याहरुको समाधान गर्न जिल्ला स्थित सवै राजनितिक दल, जनप्रतिनिधी तथा सरोकारवालाहरुलाई पहल गरिदिन आग्रह गर्ने, लोपोन्मुख अवस्थामा रहेको विभिन्न माछाहरुको संरक्षणको लागि जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने लगायतका १२ बुँदे घोषणा पत्र जारी गरिएको हो । जारी घोषणा पत्र जिल्ला स्थित सवै स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, सम्बन्धित सवै कार्यालयहरु लगायतलाई पठाईने पत्रकार महासंघ संखुवासभाका अध्यक्ष ईन्द्र गिरीले जानकारी दिनुभयो ।
महासंघ अध्यक्ष गिरीको अध्यक्षतामा आयोजित साधारण सभामा प्रदेश सभा सदस्य विदुर कुमार लिङ्थेप प्रमुख अतिथि रहनुभएको थियो । साधारण सभामा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, प्रदेश कार्य समिति अध्यक्ष लिला बल्लभ घिमिरे, प्रदेश सचिव देवेन्द्र कार्की, मोरङ्ग अध्यक्ष सञ्जिव खनाल, पुर्व केन्द्रीय सदस्य उद्धव तिम्सिनाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पुर्व प्रदेश सभा सदस्य पदम कुमारी गुरुङ, धर्मदेवी नगरपालिकाको नगर प्रमुख उदयचन्द्र पौडेल, उपप्रमुख तारा महत भट्टराई लगायतका जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया