खाँदबारी । सामान खरिदमा अनियमितता भएको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अस्पताल संखुवासभामा छानबिन थालेको छ।
अक्सिजन प्लान्ट जडानमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले छानबिन थालेको हो। जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान भएको ३ महिनामै बन्द भएको थियो।
जिल्ला अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट लगायतका कर्मचारीहरु माथी अख्तियारले छानबिन थालेको जिल्ला अस्पतालले जनाएको छ।
तत्कालीन समयमा अक्सिजन प्लान्ट र ब्याकअप सिस्टम खरिदमा संलग्न भएका कर्मचारीहरु माथी छानबिनका लागि अख्तियारले कागजपत्र र व्यक्तिगत विवरण मागेको मेडिकल सुपरिटेन्डेन्ट निर्मिका राईले जानकारी दिएकी छन्। मेडिकल सुपरिटेन्डेन्ट राईका अनुसार अख्तियारले माग गरेका कागजपत्र बुधबार सम्म बुझाउन समय दिइएको छ।
जिल्ला अस्पतालमा प्रदेश सरकारको ६८ लाख ५० हजार रूपैयाँ सहयोगमा अक्सिजन प्लान्ट खरिद गरी जडान गरेको थियो । २०७८ कात्तिक दोस्रो साता जडान गरेको अक्सिजन प्लान्ट माघसम्म चलेको थियो।
अक्सिजन प्लान्ट जडानको ठेक्का प्रविधि इन्टरनेशल इन्क प्रालि काठमाडौंले पाएको थियो। अक्सिजन प्लान्ट ३ महिना नबित्दै बिग्रेको थियो।
डिजिटल टेक्नोलजी कम्पनी प्रालि काठमाडौंले अस्पतालको ब्याकअप सिस्टम उपलब्ध गराएको थियो। लाखौं खर्च गरेर ल्याएको अक्सिजन प्लान्ट सञ्चालन नभएको भन्दै पटक पटक कारवाहीको मागसमेत राखेका थिए।
प्रतिक्रिया