धुमधामका साथ मनाईदै चाक्चाकुर पर्व



खाँदबारी । आदिवासी किराँत कुलुङ समुदायले देशभर चाक्चाकुर पर्व मनाउन सुरु गरिएका छन् । पौष १५ देखि १७ सम्म ३ दिन मनाईने यो पर्व कुलुङ समुदायको बाहुल्य क्षेत्रमा मनाउन सुरु गरिएको हो ।

मिनारी दाचाम् निङ्दोङ चाक्चाकुर पौष १५ मा विभिन्न जिल्लाको कुलुङ बाहुल्य क्षेत्रमा कार्यक्रमहरुको आयोजना गरि मनाईएको छ । मुख्य गरि सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, काठ्माण्डौ, भोजपुर, मोरङ्ग, कास्की लगायतका जिल्लाहरुमा कार्यक्रमको आयोजना गरिएको थियो ।

कुलुङ समुदायले चाक्चाकुर पर्वलाई नयाँ बर्ष तथा अन्न भित्र्याएको खुसीयालीको रुपमा मनाउने गरेका छन् । चाक्चाकुरकाे पहिलो दिन शुभकामना साटासाट गर्ने दिनको रुपमा मनाउने गरेका छन् भने दोश्रो दिन पारिवारिक जमघट र तेश्राे दिन ठुलाबडाबाट आशिर्वाद लिने दिनको रुपमा मनाउदै आएका छन् ।

कुलुङ समुदायको चाक्चाकुर पर्वको अवसरमा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका र सङ्खुवासभाको सिलिचाेङ गाउँपालिकाले सार्वजनिक विदा दिदै आएकाे छ । कुलुङ जातिलाई छुट्टै आदिवासीको रुपमा सुचिकृत गर्न माग राख्दै आएका कुलुङ समुदाय चाक्चाकुर पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने माग राख्दै आएका छन् ।

सम्बन्धित समाचार