कुलुङ सङ्घ सङ्खुवासभाले गर्यो १८ कुलुङ जनप्रतिनिधि र २ कर्मचारीलाई सम्मान



खाँदबारी । आदिवासी किराँत कुलुङ जातिको संस्था कुलुङ संघ सङ्खुवासभाले गत स्थानीय तहमा निर्वाचित १८ कुलुङ जनप्रतिनिधि र २ कार्यालय प्रमुखहरुलाई सम्मान गरेको छ । कुलुङ समुदायको प्रमुख चाड चाक्चाकुरको अवसरमा खाँदबारीमा कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।

संघले सिलिचोङ गाउँपालिकाको उपाध्यक्ष सहित तीन वडा अध्यक्ष, एक जिल्ला समन्वय समिति सदस्य, दुई कार्यपालिका सदस्य र ८ वडा सदस्यलाई सम्मान गरेको हो । त्यस्तै मकालु गाउँपालिकाका उपाध्यक्ष र २ वडा सदस्य तथा चिचिला गाउँपालिका एक वडा अध्यक्षलाई सङ्घले सम्मान गरेको हो । संघले भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षलाई पनि सम्मान गरेको हो ।

सङ्खुवासभा जिल्लाको सरकारी कार्यालयमा कार्यरत कुलुङ कार्यालय प्रमुखहरुलाई समेत विगतबाट नै सम्मान गर्दै आएको कुलुङ सङ्घ सङ्खुवासभा अध्यक्ष प्रकाश कुलुङले जानकारी दिनुभयो । सोहि अनुसार यस बर्ष सिलिचोङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भद्रबहादुर कुलुङ र राष्ट्रिय बाणिज्य बैंक खाँदबारीका प्रमुख गुरुप्रसाद कुलुङलाई सम्मान गरिएको अध्यक्ष कुलुङले जानकारी दिनुभयो ।

कार्यक्रममा कुलुङ समुदायको उत्थानको क्षेत्रमा योगदान गर्ने कुलुङ सङ्घ सङ्खुवासभाका पुर्व अध्यक्षहरु लाकपत कुलुङ, जुद्धबहादुर कुलुङ र सिलिचोङ गाउँपालिकालाई पनि सम्मान गरिएको छ ।

सम्बन्धित समाचार