संखुवासभा । जिल्लाको प्रतिष्ठित सहकारी संस्था खाँदबारी बचत तथा ऋण सहकारी संस्थाको २३ औं बार्षिक साधारण सभ ाबिहिबार खाँदबारीमा सम्पन्न भएको छ ।
सरोजकुमार बज्राचार्यको सभापतित्व तथा जिल्ला वचत तथा ऋण सहकारी संघस्थाका अध्यक्ष युवराज शाक्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्लास्थित विभिन्न सहकारी संघसंस्था, शेयर सदस्य तथा बचतकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थिति महानुभावहरुलाई संस्थाका सदस्य शेरबहादुर बनले स्वागत मन्तब्य सहित धन्यबाद प्रकट गरेका थिए ।
कार्यक्रममा खाँदबारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सरोजकुमार बज्राचार्यले संस्थाको प्रगति विवरण र भावी कार्ययोजना प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्लास्थित सम्पुर्ण बचत तथा ऋण सहकारी संस्थाहरुको तर्फबाट शुभकामना मन्तब्य राख्दै जनमैत्री बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष छत्रमणी पन्तले सहकारीको सामान्य मुल्यमान्यता समेत थाहा नपाई सहकारी खोल्ने प्रबृत्ति पछिल्लो समय मौलाउँदै गएको भन्दै सहकारी संचालकहरु सहकारीका बारेमा प्रशिक्षित हुन जरुरी रहेकोमा जोड दिए ।
संस्थाका सचिव डेगराज बस्नेतले संचालन गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष युवराज शाक्यले सहकारीहरु खुल्ने क्रम बाक्लिदै गएपनि सहकारीको मर्म र भावना सहकारी संचालकहरुले अझै बुझ्न नसकिरहेको भन्दै कतिपय सहकारीहरु बचत कर्ताको रकम फिर्ता गर्न नसकेर भाग्नुपर्ने अवस्थामा रहेको बताए । विभिन्न जिल्लामा सहकारीहरुले निक्षेप कर्ताको रकम भुक्तानी दिन नसक्ने अवस्था रहेको धारणा राख्दै उनले सहकारीका संचालक र कर्मचारीहरु अत्यन्तै चलायमान र सचेत रहनुपर्नमा जोड दिए ।
संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णभगत प्रधानले सहकारी अभियान संखुवासभामा फस्टाउँदै गएको र सहकारी प्रति लगानीकर्ताहरु उत्साहित बन्नु सकारात्मक रहेको धारणा राखेका थिए।
कार्यक्रममा समापन सहित धन्यबाद मन्तब्य प्रकट गदै संस्थाका उपाध्यक्ष चित्ररेखा अधिकारीले जिल्लामा खुलेका विभिन्न सहकारीहरुले पछिल्लो समय संखुवासभाको आर्थिक गतिबिधिलाई चलायमान बनाउनुका साथै रोजगारी श्रृजनामा समेत महत्वपुर्ण भुमिका खेलेको धारणा राखेकी थिइन् ।
कार्यक्रममा जेष्ठ नियमित बचत कर्ता डम्बरबहादुर श्रेष्ठ र नियमित बचत कर्ता रमेश शाहलाई खादा र प्रमाणपत्रबाट सम्मानित गरिएको थियो ।
संखुवासभा उद्योग बाणिज्य संघको सभाहलमा आयोजना भएको साधारणसभाको प्रत्यक्ष प्रशारण जिल्लाको पहिलो सामुदायिक रेडियो खाँदबारी एफएमबाट गरिएको थियो ।
खाँदबारी बचत तथा ऋण सहकारी संस्थाले केही महिना अघि देखि खाँदबारी–१ दुरसंचार टोल स्थित खाँदबारी एफएमको भवनबाट आफ्नो दैनिक सेवा प्रवाह गर्दैआएको छ ।
प्रतिक्रिया