संखुवासभामा एउटै वडाका दुई घरमा आगलागी



खाँदबारी ।  संखुवासभाको खाँदबारी नगरपालिका– ४ स्थित एकै वडामा एकै रात दुई घरमा आगलागी भएको छ ।

गएराति खाँदबारी नगरपालिका– ४ स्थित भ्याङखोलामा खाँदबारी नगरपालिकाका कार्यपालिका सदस्य पवित्रा गुरुङको घर र सोही वडाका समग्र टोलस्थित पर्शुराम दर्जीको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।

उनका अनुसार दुवैजनाको घरमा गएराति करिब ९–१० बजेतिरको समयमा आगलागी भएको हो । स्थानीयको सक्रियतामा केही समयपछि आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट पवित्रा गुरुङको दुईवटा घरमध्ये एउटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । यसैगरी पर्शुराम दर्जीको ढुंगा, माटो र खरले छाएको तीनतले घर पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीको भनाइ छ ।

अहिले घटनास्थलमा प्रहरीले मुचुल्क तयार पार्ने काम गरिरहेकाले आगलागी हुनुको कारण र क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रनाउ गोदारको भनाइ छ । संखुवासभामा पछिल्लो समय घरमा आगलागीका घटना बढ्न थालेका छन् ।

सम्बन्धित समाचार