प्रदेश १ मा मन्त्रालयको संख्या ९ वटामा झारिने



विराटनगर । हिक्मत कार्की नेतृत्वको प्रदेश १ सरकारले मन्त्रालय संख्या ९ वटामा झार्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले मन्त्रालयको संख्या १४ वटाबाट घटाएर ९ वटा बनाउने निर्णय गरेको मन्त्री भक्ति सिटौलाले जानकारी दिए ।

‘मन्त्रालय धेरै भए मन्त्री धेरै भए भन्ने गुनासो आइरहेको छ, जनगुनासोलाई विचार गरेर हामीले मन्त्रालय संख्या ९ वटामा झार्न आवश्यक प्रक्रिया पूरा गर्ने निर्णय गरेका छौं’ उनले भने ।

यसअघि प्रदेश १ सुरूमा ७ वटा मन्त्रालय थियो । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसहितको गठबन्धन बनेपछि मन्त्रालय संख्या बढाएर १४ सम्म पुर्‍याइएको थियो ।

मन्त्रिपरिषद बैठकले सेवा प्रवाहको अवस्था सुधार गर्न प्रशासन सुधार कार्यदल गठन गर्ने, शीतलहरबाट जोगिन पूर्वतयारी गर्ने लगायतका निर्णय पनि गरेको मन्त्री सिटौलाले जानकारी दिए ।

सम्बन्धित समाचार