खाँदबारी । संखुवासभाको उत्तरीक्षेत्र चीनसंग सिमाना जोडिएको किमाथांका नाका खोल्न सरकारसंग माग गरिएको छ । मंगलबार भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटे लगायतको एक टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटी तत्काल किमाथांका नाका खोल्न पहल गरीदिन आग्रह गरेका हुन् ।
लामो समयदेखि नाका बन्द हुदाँ संखुवासभाको उत्तरी क्षेत्र भाटखोलाबासीले कष्टकर जीवन बिताउदै आउनु परेको छ । भोटखोलाबासीलाई संखुवासभाको सदरमुकाम खाँदबारी आईपुग्न चाररपाँच दिन लाग्छ । उनीहरुले लामो समयदेखि सिमा नाका बन्द हुँदा दैनिकीमा असर परेको र भोकमरी फैलन सक्ने भन्दै प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका छन् ।
भोटखोला गाउँपालिकाका अध्यक्ष भोटेले आफूहरुले पटक–पटक नाका खोल्न गरेको आग्रहलाई सरकारले बेवास्ता गरेको आरोप लगाए । उनले किमाथांकावासीको समस्या बुझिदिन पनि सरकारसंग माग गरे । यसअघि पनि भोटखोला गाउँपालिकाले पटक–पटक परराष्ट्र मन्त्री लगायतको टोली र सरकारसँग आग्रह गर्दै आएका छन् ।
प्रधानमन्त्री दाहालले आफूले किमाथांका नाका खोल्नको लागि पहल गर्ने आवश्वासन दिनु भएको भोटखोला गाउँपालिकाका अध्यक्ष भोटेले जानकारी दिए ।
०७६ साल माघ ५ गते कोरोना भाइरसको कारण चीन सरकारले किमाथांका नाका बन्द गरेको हो । करिब ३ बर्ष देखि नाका बन्द हुदाँ भोटखोलाबासीलाई धेरै समस्या भएको छ ।
प्रतिक्रिया