झापामा नक्कली धनी पुर्जा विक्री गर्ने पक्राउ



बिर्तामोड। झापामा किर्ते नक्कली लालपुर्जा तयार पारी रकम ठगी गर्ने गिरोहका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा नं। ६ बस्ने ७३ वर्षीय ज्ञानबहादुर गिरी रहेका छन् ।

मेचीनगर नगरपालिका वडा नं. ६ मेची डाँडामा रहेको ऐलानी जग्गाको लालपुर्जा उपलब्ध गराइदिने भनी मेचीनगर नगरपालिका वडा नं. ६ बस्ने ७५ वर्षीय भुपध्वज दाहाल , सोही ठाउँका ७३ वर्षीय ज्ञानबहादुर गिरीलगायतले विभिन्न मितिमा निवेदकहरूसँग १० हजारदेखि ७० हजारसम्म रकम असुल गरेको उजुरीका आधारमा प्रहरीले गिरीलाई पक्राउ गरेको जनाएको छ । उनीहरूले निवेदकहरूको फोटो टाँसिएको रातो मसीले सहीछाप समेत गरी नक्कली जग्गाधनी दर्ता प्रमाण पुर्जा तयार पारेर विक्री गरेको पाइएको थियो । पछि नक्कली भएको थाहा पाएपछि पीडितहरूले उनीहरूमाथि आवश्यक कारबाही लागि जिल्ला प्रशासन कार्यालय झापामा निवेदन दिएका थिए ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट प्रहरी टोली खटी गई मङ्गलवार गिरीलाई पक्राउ गरेको हो । गिरीलाई झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको र ठगीमा संलग्न भुपध्वज दाहाल फरार रहेकाले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजालले बताउनुभयो ।

७ जना पीडित व्यक्तिहरू सम्पर्कमा आइसकेको बताउँदै निवेदन आउने क्रम जारी रहेको जानकारी दिए । अझै ५०–६० जना पीडित रहेको हुन सक्ने बताइएको छ ।

 

सम्बन्धित समाचार