खाँदबारी । लेखक टीकाराम पुरीद्वारा लिखित ‘खाली खुट्टा’ कृतिकाे खाँदबारी नगरपालिका सभाहलमा परिचर्चा कार्यक्रम आयाेजना गरिएकाे छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका पुरीद्वारा लिखित आत्म संस्मरण पुस्तककाे परिचर्चा गरिएको हो ।
कृतिको परिचर्चा कार्यक्रमका वक्ताहरुले यस पुस्तकले संघर्ष गर्न सिकाउने बताएका हुन् । मकालु साहित्य समाजले आयोजना गरेको परिचर्चाका वक्ताले सकारात्मक सोचका साथ अघि बढ्नका लागि पुस्तकले प्रेरित गर्ने बताए । कार्यक्रममा प्राज्ञ खेम नेपाली, टिका आत्रेय, खगेश्वर घिमिरेले कृति परिचर्चा गरेका थिए । त्यसैगरी शेरबहादुर पुरीले लेखकको व्यक्तित्व चर्चा गरेका थिए । परिचर्चाकारहरुले खाली खुट्टा कृतिमा समावेश भएका विषयले राजनीतिक संस्कार र समाज सुधारका लागि सन्देश दिएको बताए ।
कार्यक्रमका अध्यक्ष ताराबहादुर बुढाथोकीले पुस्तकमा समेटिएका विषयले सबैलाई प्रेरणा मिल्ने बताए । पुस्तकको मुख्य उद्देश्य संघर्ष गरे सफल हुन सकिन्छ भन्ने रहेको बुढाथोकीले बताए । कार्यक्रमको अवसरमा लेखक पुरीलाई सम्मान समेत गरिएको छ ।
कृति परिचर्चा पछि भएको खाँदबारी नगर अन्तर मावि कविता लेखन तथा वाचन प्रतियोगिता समेत सञ्चालन भयो । प्रतियोगितामा रस्मिना मेवाहाङ प्रथम, सौजन कट्टेल द्धितिय, दिपेश राई तृतिय र उमा बानियाँले चौथो स्थान हाँसिल गरेका छन् । उनीहरुलाई नगद र प्रमाणपत्र प्रदान गरिएकाे थियाे ।
प्रतियोगिहरुलाई स्थलगत रुपमै ‘विभेद’ शिर्षक दिएर कविता लेख्न लगाएको मकालु साहित्य समाजका सचिव भरत कुलुङले बताए । प्रतियोगितामा ६ जना प्रतियोगिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया