उत्तर दक्षिण कोशी राजमार्ग कालोपत्रे आयोजनाले गति लियो



खाँदबारी । तीन देश जोड्ने उत्तरदक्षिण कोसी राजमार्ग अन्तर्गत खाँदबारीदेखि नुमसम्मको खण्ड कालोपत्रे आयोजनाले गति लिन थालेको छ । निर्माण कम्पनी शर्मा शिवशक्ति जेभिको मुल कम्पनी शर्मा निर्माण सेवाले निर्माणको नेतृत्व सम्हालेसँगै गति लिएको हो ।

सङ्खुवासभा सदरमुकाम खाँदबारीदेखि मकालु गाउँपालिकाको नुमसम्मको ३९ किलोमिटर सडक कालोपत्रे गर्न शर्मा शिवशक्ति जेभिले ठेक्का लिए पनि काम भने गर्न सकेको थिएन । शिवशक्तिले ठाउँ ठाउँमा ‘ब्याक कटिङ’ र केहि पर्खाल लगाउन बाहेक काम गर्न सकेको थिएन । शर्मा र शिवशक्तिको ‘जोईन्ट ठेक्का भएपनि शिवशक्तिले निर्माणको जिम्मेवारी लिएर सम्झौता गरेको थियो । तर शिवशक्तिले काम गर्न नसकेपछि ठेक्का तोडेर कारवाहिको प्रकृया सुरु गर्न लागिएको थियो ।

शिवशक्तिले २०८० पौष १७ मा सम्पन्न गर्ने गरि २०७८ असार १७ गते आयोजना सम्झौता गरेको थियो । उक्त समयसम्म पनि सन्तोषजनक प्रगति नभएको अवस्थामा २०८० असार १४ गतेसम्मको लागि पहिलो पटक म्याद थपिएको थियो । म्याद थप गरिएपनि शिवशक्तिले काम नगरेपछि आयोजना कार्यालयले स्पष्टिकरण सोधी धरौटी रकम समेत जफत गरेको थियो ।

यसपछि निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने लगायतको प्रकृया सुरु गर्ने बेलामा मुल कम्पनी शर्मा निर्माण सेवाले आफुले जिम्मा लिएर काम गर्ने प्रतिबद्धता दिएपछि दोश्रो पटक म्याद थप गरिएको आयोजना कार्यालयका प्रमुख सविन कोईरालाले जानकारी दिनुभयो । शर्माको प्रतिवद्धतापछि गत बैशाख ५ गते म्याद थप गरिएको कोईरालाले जानकारी दिनुभयो ।

म्याद थप गरिएपनि सहमतिको आधारमा माघदेखि नै शर्माले साईटको जिम्मा लिएर काम गरिरहेको आयोजना कार्यालय प्रमुख कोईरालाले जानकारी दिनुभयो । शिबशक्तिले ४० महिनामा २२ प्रतिशत मात्र काम गरेको आयोजना प्रमुख कोईरालाले जानकारी दिनुभयो । शर्माले निर्माणको जिम्मा लिएपछि कामले पनि गति लिएको छ । अहिले कालोपत्रेको लागि आवश्यक पर्ने क्रसर राख्ने काम सुरु भईसकेको आयोजना कार्यालय प्रमुख कोईरालाले जानकारी दिनुभयो ।

बर्षातको समयमा पनि काम गर्ने गरि माथिल्लो खण्डको लागि ईन्धन भण्डारण गर्ने पम्प समेत बनाईसकेको कोईरालाले जानकारी दिनुभयो । शर्माले जिम्मेवारी लिएपछिको पछिल्लो करिव तीन महिनामा १६ प्रतिशत भौतिक प्रगति भईकेको कोईरालाले जानकारी दिनुभयो । शर्माले थप गरिएको समय भित्र काम सम्पन्न गर्नेमा विश्वस्त रहेको कोईरालाको भनाई छ ।

पछिल्लो पटक थप गरिएको म्याद अनुसार शर्माले २०८२ भदौ मसान्त भित्र कालोपत्रे गर्ने सम्पूर्ण काम गरिसक्नु पर्नेछ ।

 

 

सम्बन्धित समाचार