संखुवासभामा देखिन थाल्यो मनसुनको असर, बाढि पहिरोबाट जनधनको क्षति



मकालु गाउँपालिका ५ नुममा गएको पहिरोबाट घरमा पुगेको क्षति । तस्विरः गंगा विष्ट

खाँदबारी । मनसुन नेपाल भित्रिएसँगै परेको बर्षाका कारण सङ्खुवासभामा जनधनको क्षति हुन सुरु भएको छ । सोमबारदेखि परेको पानीका कारण बाढि पहिरो जान सुरु गरेको छ ।

लगातार बर्षाका कारण चिचिला गाउँपालिका ३ स्थीत सुन्तले बेँशीमा पहिरो जाँदा १ जनाको मृत्यू भएको छ भने २ जना घाईते भएका छन् । मंगलबार राती परेको पानीका कारण पहिरो जाँदा अरुण तेश्रोमा कार्यरत मजदुर गंगाराम थारुको मृत्यू भएको हो । आयोजनाको मजदुर क्याम्प माथीबाट राती सुतिरहेको बेला पहिरो खसेर बर्दियाका थारुको घटनास्थलमा नै मृत्यू भएको हो । उक्त पहिरोबाट मकवानपुरका उमेश कार्की र गोविन्द थारु घाईते भएका छन् ।

बर्षाका कारण उत्तर दक्षिण कोशी राजमार्गमा समेत क्षति पुगेको छ । यस सडक खण्ड अन्तर्गत खाँदबारी ३ स्थीत ठुलो ढुङ्गादेखि पाङ्मा गाउँ विचको सडकमा भलबाढी पसेर क्षति पुगेको छ । त्यस्तै मकालु गाउँपालिकाको मुढेदेखि नुम खण्ड र नुमदेखि कटुवालडाँडा विचको सडकमा बढि क्षति पुगेको उत्तर दक्षिण कोशी सडक आयोजनाको कार्यालयले जनाएको छ । सडकमा बाढी पसेर केहि समय यातायात समेत अवरुद्ध भएको आयोजना कार्यालयका प्रमुख सविन कोईरालाले जानकारी दिनुभयो । यस सडक खण्डहरुमा आईपर्ने समस्याहरुलाई मध्यनजर गर्दै ठाउँठाउँमा सडक मर्मतका उपकरणहरु राखेर यातायात सुचारु गरिएको समेत उहाँले जानकारी दिनुभयो ।

बर्षाका कारण जिल्ला सदरमुकाम खाँदबारीदेखि चन्दनपुर हुँदै भोजपुर तथा जिल्लाकै सिलिचोङ गाउँपालिका जाने सडक समेतमा समेत क्षति पुगेको छ । सडकको विच भाग भएर बगेको बाढीले सवारी चलाउन नमिल्ने गरि भत्किएको छ । यी बाहेकका अन्य स्थानहरुको सडकहरुमा पनि क्षति पुगेको छ ।

जिल्लामा दिनहुँ पर्ने पानीका कारण ठाउँठाउँमा साना तिना पहिरोहरु जान थालेको छ । यसरी लामो समय पानी परे ठुलो पहिरो जाने र धनजनको क्षति हुने सम्भावना छ । सङ्खुवासभा पहिरो जोखिम जिल्ला हो । केहि बर्ष अघि गाउँ नै बग्ने गरि गएको सिलिचोङ गाउँपालिकाका १०४ पहिरो विस्थापितहरु अझै पुर्नस्थापना गर्न सकेको छैन । त्यस्तै, अघिल्लो बर्ष पहिरोका कारण विस्थापित भएका चिचिलाका १६ परिवारलाई पनि पुर्नस्थापना गर्न बाँकी छ ।

सम्बन्धित समाचार